सिन्धुपाल्चोकमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा आजबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलनको काम सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आयोजना गरेको एक कार्यक्रमका बिच राष्ट्रिय परिचयपत्र लागि विवरण सङ्कलनको काम सुरु भएका हो ।
अघिल्लो आर्थिक वर्षको चैत महिनाबाट विवरण सङ्कलन गर्न सुरु गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण आवश्यक उपकरण आइपुगेकोले सुरु गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । अहिले भने सम्पूर्ण आवश्यक उपकरणसहित जनशक्ति समेत उपलब्ध भइसकेकोले विवरण सङ्कलनको काम सुरु गरेको उहाँले बताउनुभयो ।
परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयंम आफ्नो सक्कलै नागरिकता र सम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
अहिले प्रशासन कार्यालयमा सुरु भए पनि केही समयमा हरेका पालिकामा पुग्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचय पत्रमा नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र समावेश गरिने छ ।
राष्ट्रिय परिचय पत्रमा व्यक्तिगत विवरणहरूहरका साथमा १० वटा औँलाको छाप, आँखाको रेटिना, परिचय नम्बर, फोटो, राष्ट्रियता ,हस्ताक्षर र चिप्स जस्ता विवरण समावेश हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र पाउनका लागि १६ वर्ष उमेर पुरा भएको र नेपाली नागरिकताको प्रमाण पत्र लिएको हुनुपर्नेछ ।
नेपाल सरकारले पहिलो चरणमा २०७५ मङ्सिर ३ गते पाँचथर जिल्ला र सिंहदरबारमा पाइलट प्रोजेक्टको रूपमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । दोस्रो चरणमा विभिन्न १२ जिल्लामा यो परिचयपत्र प्रदान गरिएकोमा आजबाट सिन्धुपाल्चोक जिल्लाबाट समेत वितरण सुरु हुन भएको छ ।
अपराध नियन्त्रण जस्ता क्रियाकलापमा समेत राष्ट्रिय परिचयपत्रले सहयोग पुराउने छ ।








प्रतिक्रिया राख्नुहोस्