बीरगंजमा सांसदसहित थप ६४ जनामा देखियो कोरोना

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित बीरगंजमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सांसद प्रदिप यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।
संक्रमित हुनेहरुमा १५ देखि ६८ वर्ष उमेर समूहका रहेका छन् जसमध्ये ३ जना महिला छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार सांसद यादवसहित उनका सवारी चालक र पिएसओ पनि संक्रमित भएका छन् । त्यसैगरी अन्य संक्रमित हुनेहरुमा नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, स्थानीय प्रशासन तथा बीरगंज महानगरपालीकाले चलाएको एक घर एक परीक्षण अन्तर्गतको मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।
वीरगञ्ज– ६ माईस्थान मिना बजार क्षेत्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मास टेष्टिङका क्रममा माईस्थान मिना बजारमा संकलन गरिएको स्वाबको नमूना परीक्षणका क्रममा ३३ जनामा संक्रमण देखिएको डाक्टर उपाध्यायले बताउनुभयो ।
त्यसैगरी बीरगंज महानगरपालीका वाडा नम्बर २५ सिर्सीयाका १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी बयोधा अस्पतालबाट पठाइएको स्वाब परीक्षण गर्दा वीरगञ्ज–१६ नगवा बस्ने ६८ र ५० वर्षीया महिला, एपोलो अर्थोमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ५१ र ४२ वर्षीय पुरुष, सिर्सिया सुख्खा बन्दरगाहमा कार्यरत एक संक्रमित र आदर्शनगरका एक संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका क्रमशः १५ वर्षीय किशोर र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आफैं पीसीआर परीक्षण गराउन आएका वीरगञ्ज–१६ नगवाका ३३ वर्ष, महाविरस्थानका ४२ वर्षीय पुरुष, वीरगञ्ज–१२ मुर्लीका २५ र ४३ वर्षका पुरुष, वीरगञ्ज–२३ सबैठवाका २३ वर्षीय पुरुष, पर्सागढी नगरपालिका–४ का २३ वर्षका पुरुष, पकाहामैनपुर गाउँपलिकाका ३० वर्षका पुरुष, परवानीपुरका ५५ वर्षका पुरुष, रौतहटको जयनगरका २५ वर्षका पुरुष र वीरगञ्ज–१० रानीघाटका ३२ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
बीरगंजमा यसअघि संक्रमित पुष्टि भएका १ सय ५६ जना आईशोलेशनको अभावमा घरमै रहेको र उनीहरुबाट संकंमण बढ्नसक्ने खतरा रहेको छ । आज थप ६४ जना कोरोना संक्रमण पुष्टि भएसँगै २ सय भन्दाबढिलाई होमआईशोलेशनमा राख्नुपर्ने बाध्यता रहेको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।
बीरगंजमा संक्रमित ठुलो संख्यामा थपिदै गईरहेको बेला गएराति १८ जना कोरोना संक्रमण निकोभई घर फर्किएका छन् । होम आईशोलेशनमा रहेका अधिकांश संक्रमितहरुमा लक्षण नदेखिएको र अधिकांशको स्वास्थ्य अबस्था सामान्य रहेको भएपनि बीरगंजको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा रहेका संक्रमितहरु मध्ये अधिकाँश संक्रमित लक्षण सहित रहेको र ४ जना आईसियुमा रहेको उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्