रुपन्देहीमा ठुला होटेल खुलेनन्
रुपन्देही । चार महिनापछि सरकारले होटेल रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति दिए पनि रुपन्देहीका व्यवसायी भने सञ्चालन गर्न अझै तयार देखिएका छैनन् ।
सरकारले लामो दुरीका सवारी साधन, हवाई सेवा तथा रोकिएका सबै सेवाहरू पूर्ववत् रूपमा सञ्चालन गर्न अनुमति नदिँदासम्म होटेल रेस्टुरेन्ट मात्र चल्न नसक्ने व्यवसायीहरूको तर्क रहेको छ ।
मानिसहरूको आवतजावतलाई रोकेर होटेल व्यवसाय सञ्चालन हुन नसक्ने व्यवसायीको भनाइ छ ।
कोरोना महामारीसँगै चार महिना लामो लकडाउनपछि सरकारले बिहीबारदेखि होटेल रेस्टुरेन्ट खोल्न अनुमति दिए पनि रुपन्देहीका ठुला होटेल तथा रेस्टुरेन्ट खुल्न सकेका छैनन् ।
भारतीय सीमासँग जोडिएको र यहाँका होटेलमा आउने अधिकांश पाहुनाहरू भारतीय रहेकोले पनि सिमानाका र अरू यातायातको सेवा बन्द गरेर होटेल खोल्नुको कुनै औचित्य नहुने होटेल व्यवसायी मिथुनमान श्रेष्ठले बताउनुभयो ।
अरू सेवाहरू सञ्चालन नहुँदै होटेल मात्र सञ्चालन गरेर खर्च बढाउनु साटो नखोल्नु नै उचित हुने होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताउनुभयो । बुटवल भैरहवा आसपासका होटलहरु फाट्टफुट्ट रूपमा सञ्चालन भए पनि लुम्बिनी क्षेत्रका होटेल भने चल्न नसक्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्