तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक पर्यटकीय स्थल पाँच पोखरीमा आन्तरिक पर्यटकको घुइँचो

सोलुखुम्बु । सोलुखुम्बुको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाँच पोखरीमा लागेको मेलामा करिब तीन हजार दर्शनार्थीहरुले दर्शन गरेका छन् ।

निकै विकट क्षेत्रमा रहेको महाकुलुङ गाउँपालिका २ र ३ को सिमानामा अवस्थित पाँच पोखरीमा नाग पञ्चमीको अवसरमा लागेको मेलामा यति धेरै सङ्ख्यामा दर्शनार्थी पुगेको स्थानीय चतुर कुलुङले जानकारी दिनुभयो ।

भोजपुर र सङ्खुवासभाको समेत सिमाना नजिक पर्ने पाँच पोखरीमा महाकुलुङ, सोताङ र भोजपुरलगायतका क्षेत्रका सर्वसाधारण दर्शनका लागि पुगेका हुन् । कुलुङकाअनुसार पहिलो पटक सो क्षेत्रमा सबैभन्दा बढी दर्शनार्थी पुगेका हुन् । लकडाउन र कोरोना कहरका बिच पनि ठुलो सङ्ख्यामा धाँमीझाँक्री सहित श्रद्धालुहरू पाँच पोखरी पुगेका थिए ।

त्यहाँ साना ठुला गरी पाँछ वटा पोखरीहरू रहेका छन् । यी पोखरीहरूलाई पारिवारिक नाताको सम्बन्धको रूपमा वर्णन गर्ने गरिएको छ । सबैभन्दा ठुलो पोखरीलाई बुढा ताल अथवा बुबा पोखरीको रूपमा भक्तजनहरूले पुज्ने गरेका छन् । सोही पोखरीबाट बग्ने पानी करिब एक सय मिटर तल अर्को पोखरीमा पुग्छ । जसलाई बुढी पोखरी अथवा आमा पोखरीको नामबाट नामकरण गरिएको छ ।

त्यस्तै, बुबा पोखरीबाट बगेको पानी नजिकैको अर्को पोखरीमा पुग्दछ । जुन पोखरीलाई छोरा पोखरीको नामले चिनिन्छ । सोही पोखरीबाट बगेको पानी नजिकैको अर्को पोखरीमा पुग्दछ, जसलाई बुहारी पोखरीको नामले चिनिएको छ । यस्तै पाँचौँ पोखरी कमरा पोखरीले चिन्ने गरिएको छ । नजिकमा कुनै मानव बस्ती नभएकोले यस पोखरीको जललाई निकै चोखो मान्ने गरिएको छ ।

पोखरीको दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने, निःसन्तानको समस्या हल हुने, धन माग्नेले पैसा, गाईभंैसीको दूध चढाउने र विद्या माग्नेले कापी कलम चढाउने प्रचलन रहिआएको बताइन्छ । मेलामा महाकुलुङ गाउँपालिका अध्यक्ष साँगर किराँती, उपाध्यक्ष बिपना कुलुङ, विभिन्न वडाका वडाध्यक्ष लगायतको टोली समेत सो क्षेत्रमा पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button