तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रण उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीको निर्देशन

फाइल तस्बिर

राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेकोले संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।

कोरोना संक्रमणको वस्तुस्थिति तथा तयारीबारे निरीक्षणका क्रममा सप्तरीको राजविराजमा सोमबार आयोजित सरोकारवालाहरुसँगको कार्यक्रम उहाँले वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई समेत थाती राखेर जनताको जीवन जोगाउने कार्य प्रमुख रहेको बताउनुभयो ।

सप्तरीमा कोरोना भाइरस समुदाय स्तरमा प्रवेश गरिसकेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउनका लागि मेसिन समेत थप्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, ग्लोभ्स, स्यानिटाइजर, औषधीसहित अन्य अभावलाई कमी हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुहुदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

सोही क्रममा सप्तरीमा नदी कटान एवम् डुबानको समस्याबारे चर्चा गर्दै उहाँले बलान नदी नियन्त्रणका लागि तत्काल बजेट उपलब्ध गराउने घोषणा गर्नुभयो । दीर्घकालीन रुपमा नदीजन्य एवम् डुबानको समस्या समाधानका लागि मास्टर प्लान बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button