लगानीकर्ताहरुको सम्पत्ती साँढे ६३ अर्ब बढ्यो
काठमाडौं । यस साता शेयर बजारका लगानीकर्ताहरुको सम्पत्ती साढे ६३ अर्ब बढेको छ । अर्थात, गत साताको अन्तिम कारोबार दिन १८ खर्ब ३५ अर्ब ४२ लाख रहेको कुल बजार पूँजीकरण यस साताको अन्तिम कारोबार दिन बिहिबार ६३ अर्ब ५२ करोड ६२ लाख बढेर १८ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
यो साता पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो ।
साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक ६ प्रतिशत बढेर कारोबार बन्द भएको थियो । दोस्रो दिन भने दुई सकारात्मक सर्किट लागेको बजार अन्तिम समयसम्ममा नकारात्मक भएर बन्द भएको थियो ।
गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति पूँजीबजार मैत्री भएपछि लगानीकर्ताहरु उत्साहित भएका थिए । जसका कारण शुरुका दिनमा सकारात्मक सर्किट लागेको थियो । तर, बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा नेप्सेमा करेक्सन भयो ।
यस साता नेप्से परिसूचक ४७.८४ अंक अर्थात ३.४३ प्रतिशत बढेर एक हजार ४४२.६१ विन्दुमा पुगेर बन्द भएको छ । यस साता १९७ कम्पनीहरुको एक लाख २८ हजार ३२४ पटकको कारोबारमा सात अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको एक करोड ९१ लाख ३७ हजार कित्ता शेयरको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्