सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकको उद्घाटन
बैतडी । बैतडीमा प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ –श्रीभावर–हाट–दार्चुला सडकको स्तरोन्नति गर्ने कार्य आजदेखि शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले एक कार्यक्रमकाबीच सो सडकको स्तरोन्नति गर्ने कार्यको उद्दघाटन गर्नुभएको हो ।
प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकको सतबाँझदेखि साँढे ६ किलोमिटर र श्रीभावर देखि हाट खण्डमा साढे ८ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो ।
चन्द्र एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरेर काम अघि बढाएको जोशीले बताउनुभयो । सतबाँझ देखि साढे ६ किलोमिटर स्तरोन्नति गर्नका लागि १२ करोडमा ठेक्का सम्झौता भएको छ भने श्रीभावर देखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले बताउनुभयो । दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य शुरु भएको उहाँले बताउनुभयो ।
अबको ३६ महिनामा काम सक्ने लक्ष्य सहित निर्माण कम्पनीसंग सम्झौता भएको छ । यो बर्ष पनि सो सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको जोशीले बताउनुभयो । प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको सडक भएकाले सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक स्तरोन्नति गर्ने कार्य छिट्टै हुने समेत जोशीले बताउनुभयो ।
सडक स्तरोन्नति गर्ने कार्यको उद्दघाटन गर्नुहुँदै मन्त्री बोहराले विकास निर्माणका काममा ढिलासुस्ती नहुने दाबी गर्नुभएको छ । प्रदेश गौरवका योजनाहरुलाई प्राथमिकतामा राखेर काम भईरहेको मन्त्री बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्