‘सिक्टा नदीमा लगाएको बाधको कारण हुने डुबानको दीर्घकालीन समाधान खोजिने’

बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भारतले सिक्टा नदीमा लगाएको बाधको कारण पर्सामा हुने डुबान तथा नदी कटान समस्याको दीर्घकालीन समाधान खोजिने बताउनु भएको छ ।
पर्सा जिल्लामा सिक्टा, ओरिया, गंगोल नदी तथा भेडाहा खोलाले पुर्याएको क्षति, नदी कटन तथा डुबानको आज स्थलगत अवलोकन गर्नु हुँदै मुख्यमन्त्री राउतले नदी कटान तथा डुबानबाट वर्षै पिच्छे हुने क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।
पर्साको पकहामैनपुर गाउँपालिकाको खेस्रहा, सबैठवा, प्रसौनी गाउँमा सिक्टा, गंगोल र ओरिया नदीको कारण पाँच सय बिगाहाभन्दा बढीको धान वाली, उखु बाली तथा तरकारी खेती डुबानमा परेको छ ।

भारतले सिक्टा नदी नियन्त्रणका लागि सीमा क्षेत्रमा निर्माण गरेको तटबन्धको कारण वर्षैपिच्छे नेपाल तर्फ डुबान हुँदै आएको छ । यसको दीर्घकालीन रूपमा समस्या समाधान गर्न भारत सरकारसँग आवश्यक पहल गरिने समेत मुख्यमन्त्री राउतले बताउनुभयो ।
यसै गरी डुबानका कारण खेस्राहा र सबैठवाका कारण दलित बस्ती विस्थापित भएको र उनहिरुलाई आगामी वर्ष दलित आवास योजना अन्तरगत विस्थापितहरूको घर निर्माण गरिने मुख्यमन्त्री राउतले बताउनुभयो ।

यसै गरी आजै मुख्यमन्त्री राउतले पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत भेडाहा खोलाले पुर्याएको क्षति, नदी कटान तथा डुबानको स्थलगत निरीक्षण गर्नु भएको छ ।भेडाहा खोलाले टेडा, बेल्वा, प्रसौनी, लालपर्सा लगायतका बस्तीहरूमा क्षति पुर्याएको छ ।

मुख्यमन्त्रीसँगै स्थलगत निरीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की, जसपाका केन्द्रीय सदस्य विरेन्द्र यादव, जिल्ला अध्यक्ष राम नरेश यादव, जलश्रोत तथा सिँचाइ विकास कार्यालय पर्साका प्रमुख शिवनन्दन साह लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्