फोहर नउठेको भन्दै उपमहानगरपालिका अगाडी प्रदर्शन
जनकपुरधाम । विगत केही समय यता जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको फोहोर नउठाएको भन्दै नगरक्षेत्रका केही युवाहरुले नगरको फोहोर उठाएर जनकपुरधाम उपमहानगरपालिका कार्यालयको मूल गेटमा थुपारेर आज विरोध गरेका छन् ।
विगत एक महिनादेखि फोहोर नउठेका कारण नगर क्षेत्र दुर्गन्धित बनेको भन्दै युवाहरुले नगर भित्रको केही ठाउँको फोहर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेर नाराबाजी गर्दै विरोध गरेर सफाई गर्नका लागि ध्यानाकर्षण गराएका छन् ।
युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिर लगायतको स्थानबाट फोहोर उठाएर ट्राक्टरमा राखेर उपमहानगरको मूल ढोकामा लगी फोहर झारेर विरोध प्रदर्शन गरेका छन् ।
फोहर मूल ढोकामा राखेर नगरप्रमुख, उपप्रमुख सहितको पदाधिकारीहरुको विरुद्धमा नाराबाजी गर्दै विरोध गर्दा स्थानीयले पनि समर्थन गरेका थिए । यूवाहरुले उपमहानगरपालिकाले फोहर सफाईमा करोडौ रकम खर्च गरेपनि फोहर समयमा नउठाउनु दुःखद भएको बताउनु भएको थियो ।
एशियाली विकास वैंकको ऋण सहयोग तथा सघन शहरी कार्यक्रम अन्तर्गत सडकहरु फराकिलो तथा चिल्लो बने पनि फोहर नउठ्दा नगरक्षेत्र दुर्गन्धित तथा अव्यवस्थित बन्दै गएपछि आम नगरबासीको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको भन्दै फोहरको शीघ्र व्यवस्थापन गर्नका लागि दबाब दिन विरोध गरेको यूवा अभियन्ता सरोज मिश्रले जानकारी दिनु भयो ।
उहाँले फोहोर सफा गर्ने नाउँमा खर्च गरिएको बजेट कहाँ जान्छ प्रश्न पनि गर्नु भयो । उहाँले जनप्रतिनिधिहरु नेतृत्वमा आएको ४ वर्ष पुग्न लाग्दा पनि लैण्ड फिल्ड साइटको निक्र्यौल लगाउन नसक्नु उपमहानगरको नेतृत्व प्रति प्रश्न चिन्ह खडा गरेको बताउनु भयो ।
अहिले जनकपुरधामको अधिकांश भागमा फोहर थुप्रेर वर्षाका कारणले सडक झनै गनाउन थालेका छन् । उता जनकपुधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले फोहर व्यवस्थापनका लागि लैण्डफिल साईट नभएका कारणले फोहर व्यवस्थापनमा समस्या उत्पन्न भएको स्वीकार गर्नु भयो । फोहरको व्यवस्थापन सार्वजनिक तथा सरकारी जग्गामा गर्न जादा स्थानीयबासीले विरोध गरेका कारणले समस्या भएको उहाँले बताउनु भयो ।
फोहरको समस्या समाधानका लागि उपमहानगरपालिका लागि रहेको नगरप्रमुख लालकिशोर साहले जानकारी दिनु भयो ।
एडिबी आयोजना अन्तर्गत आएको ४१ करोड रकम जग्गाको व्यवस्थापन नभएका कारण फ्रिज भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्