अबिरल बर्षाले मध्यतराई प्रभाबित : बीरगंजका ७ सय घर डुवानमा

वीरगंज। तीन दिनदेखि लगाताररुपमा परेको अविरल बर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुवानले मध्य तराईको वारा, पर्सा रौतहट लगायतका जिल्लाको जनजीवन नराम्रोसंग प्रभावित भएको छ ।
अबिरल बर्षाको कारण वीरगंज नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन प्रभावित भएको छ ।
वीरगंजको आदर्शनगर, रामगढवा,रानीघाट,जेलरोड, गणेशमान चोक, पानीटंकी, भिषुवा, लक्ष्मणवा, छपकैया, मुर्ली, श्रीपुर, चिनीमिल आवासक्षेत्र लगायतका क्षेत्रमा ३ फिट भन्दाबढि पानी जमेको कारण सडक तथा आसपासका झण्डै ७ सय भन्दा बढी घरहरुमा पानी पसेपछि जनजीवन प्रभावित भएको हो ।

वीरगंजको आदर्शनगर स्थित कैलाश होटलचोक, गिता मन्दिर चोक अगाडी झण्डै ३ फिट भन्दाबढि पानी जम्दा दर्जनौ पसलमा राखिएका सामानहरु डुबेकाका कारण लाखौको क्षति भएको ब्यवसायी बृजेश टेवानीले बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा झण्डै ३ फिट पानी जमेको कारण आवत जावत गर्न समस्या भएको छ । बीरगंज महानगरपालीकाको कार्यालय डुबानमा परेको छ भने नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय बीरगंज लगायत आदर्शनगर क्षेत्रका दुई दर्जन भन्दाबढि बैंकहरु डुबानमा परेका छन् । आदर्शनगरका अधिकांश ट्रान्सपोर्टहरुमा पानी पसेपछि भण्डारण गरी राखिएका सामानहरु नष्ट भएको ट्रान्सपोर्ट एशोशिएशन बीरगंजका पूर्व अध्यक्ष हरेन्द्र साह कानुले बताउनुभयो ।

आदर्शनगर चोकमा झण्डै ३ फिट भन्दाबढि पानी जमेपछि डेन्जर जोन घोषणागरी आवत जावतमा रोक लगाईएको छ ।
बीरगंज महानगरपालीकाले ३ अर्ब भन्दाबढिको लागतमा बीरगंजको डुवान हटाउन एडिबीको ऋण सहयोगमा ढल तथा नाला निर्माण गरेपनि प्रभवकारी हुन सकेन ।
नाला बिसर्जन गरीने सिर्सीया नदीभन्दा नालाको उचाई कम भएपछि बाढिको बेला नदीको पानी समेत आदर्शनगरमा नाला हुदै उल्टै आएपछि थप समस्या बढेको हो ।
यसैगरी, पर्साको सिघांई नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ ।
अविरल बर्षाको कारण वीरगंज महानगरपालिकाको वडा नम्बर २६ लालपर्सामा भेडियाही नदीको बाढी पस्दा दर्जनौ घरहरु डुवानमा परेको र गाउँ नै विस्थापित हुने अवस्था आएको स्थानिय बासिन्दाले बताएका छन् ।

तीनदेखीको अबिरल बर्षाले बीरगंजमा डुबान तथा जिल्लाका बिभिन्न क्षेत्रमा क्षति पुगेको जानकारी आएको हुँदा जिल्ला विपत् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी हाईएलर्टमा राखेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले बताउनुभयो ।
त्यसैगरी, गंगोल नदीमा आएको बाढीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीको अधिकांश क्षेत्र डुवानमा परेको छ ।
यता, भलुवाई खोलामा आएको बाढीले पर्साको पटेर्वा सुगौगी गाउँपालिका वडा नम्बर ५ निचुटाको मोर टोललाई चारै तर्फबाट घेरेपछि १ सय १५ घर परिवार बाढीको विचमा परेको स्थानिय राजकुमार साहले जानकारी दिनुभयो ।
उता, सिक्टानदीमा आएको बाढी गाउँमा पस्दा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुर्ली रवीदास टोलका दर्जनौं घरहरु प्रभावित भएको गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले बताउनु भयो ।
त्यसैगरी पर्साको ठोरी, उदयपुरघुर्मी लगायतका स्थानमा समेत बाढीले क्षति पुर्याएको स्थानिय बासिन्दाले जनाएका छन् ।
यसैगरी, पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ का एक दर्जन भन्दा बढी घर डुवानमा परेको पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले बताउनु भयो ।
यसैगरी, अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन समेत प्रभावित भएको छ ।
बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि रौतहटको चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
त्यसैगरी, बाराको कलैया उपमहानगरपालीका सहित महागढिमाई नगरपालीका,देवताल नगरपालीका,सिम्रौनगढ नगरपालीका,फेटा,बिश्रामपुर गाउपालीकाका अधिकांश क्षेत्र डुबान तथा बाढिबाट प्रभाबित भएका छन् । लगातारको पानी नरोकिदा मध्यतराईको जनजिवन नराम्रोसंग प्रभाबित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्