तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा पहिरोले विद्यालय भवन भत्कियो

पर्वत । अविरल वर्षाका कारण पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकदेउरालीमा पहिरो जाँदा एक विद्यालय भत्किएको छ ।

स्थानीय झिल्लिबराङ आधारभूत विद्यालय लगातारको वर्षाका कारण पहिरो जाँदा भत्किएको हो । विद्यालयभन्दा तल्लो भागमा पहिरो जाँदा दुई कक्षा कोठा पूर्ण क्षति भएको छ भने अन्य चार कक्षा कोठा रहेको भवन जोखिममा परेको छ ।

विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पौडेलले विद्यालयका बाँकी रहेका दुई वटा कोठा पनि चर्किएको र काम नलाग्ने अवस्थामा रहेको जानकारी दिनुभयो । लकडाउनका कारण विद्यालय बन्द भएकाले पठनपाठनमा असर नगरे पनि लकडाउनपछि कक्षा सञ्चालन गर्ने कक्षा नै बाँकी नरहेको प्र अ पौडेलले बताउनुभयो । कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ८० जना विद्यार्थी अध्ययनरत छन् ।

भुवनोट कमजोर र लगातारको वर्षाका कारण पहिरो गएको हुनसक्ने जनाइएको छ । मानवीय क्षति नभए पनि भौतिक रूपमा विद्यालयलाई ठुलो क्षति भएको वडाध्यक्ष भूलबहादुर पौडेलले बताउनुभएको छ ।

केही दिनदेखि लगातार वर्षा भइरहेको हुनाले धेरै ठाउँमा पहिरोको जोखिम रहेको वडाध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button