तपाईँ सुन्दै हुनुहुन्छः

जम्बु र बुल्कोटका बाढी पहिरोमा बेपत्ताहरू नदीले बगाएको आशङ्का

सिन्धुपाल्चोक । बुधवार राति आएको अविरल वर्षाका कारण बाढीमा बेपत्ता भएका सिन्धुपाल्चोकका २० जना अझै भेटिएका छैनन् । उनीहरूको अवस्था अझै यकिन हुन सकेको छैन ।

बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधवार राति आएको बाढी पहिरोमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता २० जनाको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ ।

चार दिनदेखि मङ्गलवारसम्म स्काभेटर लगाएर खोजी कार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठुला–ठुला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ ।

उद्धार कार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलवार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।

बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ ।

खोर्सानी बारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ । डिभिजन सडक कार्यालय दोलखाले सुनकोसी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन । बाह्रबिसेको खुर्सानी बारीको सडक पुरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन ।

त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजन इन्जिनियर विजयकुमार महतोले बताउनुभयो ।

भोटेकोशी र सुनकोसी नदीको बहाव झन् उर्लँदो क्रममा छ । नदीमा तीव्र बहाव र पानी पनि धमिलो भएकाले खोजी कार्य प्रभावकारी हुन सकेको छैन ।

जम्बु र सुनकोसी गाउँपालिकाका अधिकांश घर बाढीको लेदोले पुरिएका छन् । बाढी पहिरोबाट जिल्लामा सय बढी विस्थापित भएका छन् । ५२ परिवारको भौतिक क्षति भएको छ ।

बाढी पहिरोबाट विस्थापित परिवारले आफूहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button