तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कहाँ–कहाँ राजमार्ग अवरुद्ध ?(विवरण सहित)

काठमाडौं ।  देशका अधिकांश स्थानमा अविरल वर्षाभएपछि देशका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। राजमार्गमा पहिरोले समस्या पारेको छ भने तराईमा डुबानले सताएको छ। पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग,दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, नारायणगढ–मुग्लिन सडक लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्‍याएको छ।

नारायणगढ–मुग्लिन सडक थप धसियो: नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उहाँले सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उहाँले जानकारी दिनुभयो ।

सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।

सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो । दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।

अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताउनुभयो । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी नै रहेको उहाँले जानकारी दिनुभयो । यो सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।

 

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध: अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

यस्तै बुटवल–पाल्पा खण्डको दोभानमा सोमबार दिउँसो खसेको पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । बुटबल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, पैठेडाँडा क्षेत्रमा सडकमाथिबाट खसेको सुख्खा पहिरोसहित ढुङ्गा खस्दा सोमबारदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

सोमबार नै पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ठूला ढुङ्गा भएकाले समस्या भएको छ । ढुङ्गा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारी साधन रोकिएका छन् ।

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।

सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो । सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button