देशभरको जनजीवन प्रभावित, पहिरोमा ११ जना बेपत्ता
काठमाडौं । केही दिनदेखीको अविरल वर्षाले देशभरकै जनजीवन प्रभावित भएको छ ।
संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १ मा ९ वटा घर पहिरोमा पुरिदा ११ जना बेपत्ता भएका छन् ।
लगातारको वर्षासँगै गएराती गएको पहिरोमा परी ११ जना बेपत्ता भएका र ३ जनाको सकुशल उद्दार गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
स्थानीय नागरिक र ताम्कुर तथा सिसुवाटारमा रहेको प्रहरी चौकीबाट गएको टोलीले पहिरोमा हराईरहेका व्यक्तिको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिनुभयो ।
पहिरोमा परेका व्यक्तिको उद्धारका लागि खटिएका स्थानीय २५ वर्षीय मदन राईको अचानक बेहोस भई मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, म्याग्दीमा पहिरोमा पुरिएको अवस्थामा आज थप एक जनाको शव फेला परपछि मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा धौलागिरी गाउँपालिका ६ मराङका खिमवहादुर जुग्जालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पहिरोमा अझै ४ जना हराईरहेका र उनीहरुको खोजि भइरहेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ भने अझै ३ जना बेपत्ता रहेका छन् ।
वडा नम्बर ४ का एक जना र ६ का २ जना अझै बेपत्ता रहेका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
यस्तै, बर्दियाको बबई नदिमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका छन् ।
बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगना गाउँका ३२ वर्षीय जितबहादुर थारु र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
झापाको विरिङ खोलामा आएको बाढीले बगाउँदा झापा गाउँपालिका ५ का ३५ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेची नदीले बगाएर झपाको भद्रपुर ३ का ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन् ।
आज बिहान नदीमा दाउरा निकाल्न जाने क्रममा सुनसरीको बराहक्षेत्र ७ का १४ वर्षीय बालक अनिल बस्नेत सप्तकोशी नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्