तपाईँ सुन्दै हुनुहुन्छः

वर्षात समयमा तातोपानी सडक अवरोध नहुने

मेलम्ची । वर्षाका कारण क्षति पुगेका तातोपानी सडक खण्ड तत्काल सञ्चालन गरिने भएको छ ।

वर्षात सुरु भएसँगै पहिरोले अवरोध गरेका ठाउँ खुलाउने र पहिरोको सम्भावित ठाउँमा वैकल्पिक मार्ग निर्माण गर्न भौतिक योजना मन्त्रालय र सडक विभागले तदारुकता देखाएको हो ।

सोमवार सडक विभागका महानिर्देशक केशव शर्मा र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरनिको राजमार्गको कोदारीसम्म निरीक्षण गरी जीर्ण सडकको स्तरोन्नति गर्न पहल सुरु हुने बताउनुभयो ।

नेपाल चीन बिचको प्रमुख नाका तातोपानीलाई निरन्तर सञ्चालनको लागि उच्च प्राथमिकतामा राखिएकोले सडक समस्या हुन नदिने गरी काम गरिएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजय महतोले जानकारी दिनुभयो ।

”वाढी पहिरोका कारण सडक अवरोध भए तत्काल खुलाउन दुई वटा मेसिन तयारी अवस्थामा राखिएको छ”, महतोले भन्नुभयो, ”तातोपानी सडक खण्डको झ्याले, लार्चामा पहिरोले अवरोध गरेको छ, सडक नियमित गर्न आवश्यक स्रोत साधनसहित निर्देशन प्राप्त भएको छ ।” उहाँले वर्षाका कारण सडक लामो समय अवरोध हुन नदिने गरी काम सुरु गरिएको बताउनुभयो ।

”असार १५ सम्ममा एक अर्व ४८ करोड राजस्व सङ्कलन भएको छ”, भन्सार प्रमुख लालबहादुर खत्रीले भन्नुभयो, ”कोरोना प्रकोप नियन्त्रणका औषधी जन्य सामाग्रीसहित कृषि सामाग्री र फलफूल लगायतका सामाग्री भन्सारबाट धेरै आएका छन् ।”

वर्षासँगै पहिरोको कारण वेला वेला सडक अवरोध भएकोले सामान आयातमा समस्या भएको उहाँले बताउनुभयो । तातोपानी भन्सार सुख्खा बन्दरगाहमा दैनिक १५ कन्टेनरसम्मको भन्सार हुने गरेको छ ।

चीन तर्फ नेपाल ल्याउने सामाग्री बोकेका कन्टेनर पालो कुरेर बसेको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button