तपाईँ सुन्दै हुनुहुन्छः

बाँझो जमिनमा फस्टाउदै ओखर खेती

रुकुम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले टर्किबाट खरिद गरेर किसानलाई वितरण गरेको ओखरका बिरुवा किसानको पाखोबारीमा फस्टाउन थालेका छन् । नगरपालिकाको अनुदानमा प्राप्त भएका बिभिन्न जातिका ओखरका बिरुवा यतिवेला किसानको पाखो जमिनमा फस्टाउन थालेका हुन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले अनुदानमा वितरण गरेको ओखरका बिरुवाले नगरपालिका भित्र रहेका किसानका बाँझो जमिन यतिवेला ओखरका बिरुवाले भरिभराउ देखिएको छ ।


किसानको माग अनुरुप नगरपालिकाले टर्किबाट ४४ हजार ओखरका बिरुवाहरु खरिद गरेर किसानलाई वितरण गरेपछि नगरपालिका भित्रका बाँझो जमिन अहिले ओखरका बेर्नाले भरिएका हो । टर्किबाट ल्याइएका च्याटलर, फर्लर लगायत अन्य जातका ओखरका बेर्नाहरु फस्टाउन थालेपछि किसानलाई हौसला समेत मिलेको स्थानीय किसान शिब बहादुर शाहीले बताउनुभयो । नगरपालिकाले तिन महिना अघि टर्कीबाट ओखरका बिरुवा खरिद गरेर यहाँका विभिन्न वडाका किसानलाई वितरण गरेको थियो । टर्किबाट ल्याईएका ओखरका बिरुवाहरु नगरपालिका सम्म आईपुग्दा एक बेर्ना बराबर ३ सय ७० रुपैया खर्च भएको नगरप्रमुख गोर्खबहादुर केसीको भनाई छ ।

उनका अनुसार एक बेर्नाका लागि प्रति किसानबाट ५० रुपैंया उठाईएको र अरु सबै नगरपालिकाको अनुदान रहेको छ । यसपटक नगरपालिका भित्रका किसानले ६४ हजार ओखरका बिरुवा माग गरेका थिए । तर लकडाउनका कारण ४४ हजार ओखरका बिरुवा खरिद गरिएको र बाँकी २० हजार बेर्ना खरिद गर्न नसकिएको नगरपालिकाले बताएको छ । नगरपालिकाले बाँझो जमिनको सदुपयोग गर्न र किसानको आम्दानी बृद्धिका लागि आगामी वर्षमा थप ओखरका बिरुवा लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button