समयमा मल ढुवानी नहुँदा भोजपुरका कृषक मारमा
भोजपुर । खेतीको समयमा रासायनिक मल समयमा ढुवानी हुन नसक्दा पूर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरू मारमा परेका छन् ।
जिल्लाभर नै यति बेला रासायनिक मलको अभाव देखिएको छ । मल अभाव कै कारण लक्ष्य अनुसार उत्पादन नहुने भएपछि किसान निराश बनेका छन् ।
स्थानीय तहले पनि टेन्डर र खरिद प्रक्रियामा ढिलाइ हुनाले समयमै मल वितरण गर्न कठिनाइ भएको स्विकार्दै आएका छन् । कम्पनीसँग बारम्बार मलको ताकेता गरे पनि पठाएको छैन, टेन्डरमार्फत मल निकासी गर्ने जिम्मा पाए पनि मलको आधिकारिक विक्रेताले नै मल रोकिदिएको कारण समयमा मल ढुवानी गर्न समस्या भएको ठेकेदार बताउँछन् ।
सवैतिर मल खोजी गर्दै हिँडे पनि आफूले मल पाउन नसकेको कृषकहरू बताउँछन् । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ६ बैकुन्ठेका महेश गेलालले मल पाइने आसले बजारका कुना काप्चा पुगेको तर कहीँ पनि पाउन नसकेको गुनासो गर्नुभयो । उनी मात्र होइन भोजपुरका अन्य कृषकहरूको पनि अवस्था अहिले यस्तै
छ ।
भोजपुरमा दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । ती सबै तहमा यति बेला मलको अभाव देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्