विद्युत सर्ट भएर विद्यालयमा आगलागी हुँदा १५ लाख बराबरको क्षती
डोटी । डोटीको एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी हुँदा अनुमानित १५ लाख बराबरको क्षती भएको छ ।
के.आई.सिंह गाउँपालिका वडा नं. ६ स्थित भूमिराज माध्यमिक विद्यालयमा विहिबार राती सवा आठ बजेतिर विद्युत सर्ट भएर आगलागी हुँदा उक्त क्षती भएको विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिए ।
सो विद्यालयमा बनाईएको क्वारेन्टाइनमा ड्युटीमा रहेका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेका थिए । प्रहरीले सो वडाका अध्यक्ष दीप बहादुर बलायरलाई खबर गरेसँगै स्थानीयबासीन्दा, विद्यालयका उपलब्ध शिक्षकहरु र प्रहरी सहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले जानकारी दिए ।
आगलागी नियन्त्रणमा लिन विद्युत कार्यालयलाई फोन सम्पर्क गरी लाईन काट्न लगाएर त्यसपछि नियन्त्रणमा लिईएको स्थानीय युवा तथा अनेरास्ववियुका डोटी जिल्ला नेता प्रकाश जोशीले जानकारी दिए ।
आगलागीबाट विद्यालयको अफिस कोठामा रहेको डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप १, फोटोकपि मेशिन २, प्रिन्टर १, इ–हाजिरी मेशिन १ वटा लगाएतका मेशिनरी सामानहरु जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले जानकारी दिए ।
त्यस्तै काठका टेबल ४ वटा, ह्वाइट बोर्ड १० वटा, प्लाष्टिकका कुर्सी ३० वटा, बुक कर्नर (र्याक) १ वटा, रु. ५० हजार बराबरका खेलकुदका सामाग्री, विद्युतको मिटर तथा तार, डिजे १ वटा जलेर खरानी भएको पनि लेखापाल भट्टले बताए ।
त्यसै गरी लाईब्रेरीका झण्डै २ लाख ५० हजार बराबरका पुस्तकहरु, आगलागी भएको कोठाको झ्याल ढोका पनि जलेर काम नलाग्ने भएका छन् ।
कोठामा रहको स्टिल दराज र दुइ वटा काठका टेबल भने बचाउन सफल भएको भए पनि दराज भित्रका सामान खोलेर हेर्न बाँकी रहेको जनाईएको छ ।
जिल्लाबाट प्रहरी टोली घटनास्थल गएर प्रहरी मुचुल्का बनाउने तयारी भईरहेको छ । सो विद्यालयमा बनाईएको क्वारेन्टाइनमा अहिले २ जना मानिसहरु रहेको पनि जनाईएको छ ।








प्रतिक्रिया राख्नुहोस्