तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा बजेटः कोरोना नियन्त्रण र रोजगारी प्राथमिकता

पर्वत । पर्वतका सात स्थानीय तह मध्ये एक गाउँपालिका बाहेक अरु सबैले बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहका कार्यक्रममा कोभिड १९ रोकथाम तथा प्रभाव नियन्त्रणलाई प्राथमिकतामा राखेको जानकारीरु दिएका छन् । त्यसवाहेक पूर्वाधार विकास, कृषि, उद्यम, पर्यटन लाई जोड दिँदै बजेट बिनियोजन गरेका छन् ।

मोदी गाउँपालिकाको कुल बजेट ६२ करोड ५६ लाख ५९ हजार प्रस्तुत गरेको छ । मोदीले आगामी वर्ष एक करोड ५० लाख बराबरको कोभिड विशेष कोष स्थापना गर्ने र कोरोना प्रभावित यूवा लक्षित व्यवसायिक कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ ।

कुश्मा नगरपालिकाले ७९ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कुश्माले पनि कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रु.८० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

\

फलेवास नगरपालिकाले कोरोनाले पारेको प्रभाव, भाइरस नियन्त्रण, रोकथाम, उपचार र रोजगारको सृजना, आवास तथा बस्ती क्षेत्रमा पुर्वधार विकास गर्न भन्दै ८ करोड रुपैयाँ बिनियोजन गरेको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवासले ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।

जलजला गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने, प्रत्येक स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुधार गर्ने जस्ता कार्यक्रम लाई जोड दिएको छ भने कोभिड १९ का कारण बिदेशबाट फर्किएका यूवालाई जग्गा भाडामा लिएर खेती गर्न प्रेरित गर्ने कार्यक्रम समाबेश गरेको छ । तर, बजेट भने तयारी नपुगेको भन्दै आएको छैन ।

महाशिला गाउँपालिकाले ‘गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी, अव त गाउँ फर्क प्यारा प्यारी’ नारा दिएर बिदेशबाट फर्किन चाहने लाई रोजगारीका अवसर सृजना गर्ने जनाएको छ । कृषि तथा उद्यममा लाग्ने यूवालाई ३ लाख सम्मको ऋणमा १ बर्षको ब्याज गाउँपालिकाले व्यहोर्ने कार्यक्रम समाबेश गरिएको छ । गाउँपालिकाको आठौ गाउँ सभाबाट ३४ करोड ४० लाख १८ हजार २ सय २३ बजेट पारित गरिएको छ ।

बिहादी गाउँपालिकाले ३९ करोड ८९ लाख १० हजार रुपैयाको बजेट प्रस्ताव गरेको छ । अध्यक्ष कमलप्रसाद भुसालका अनुसार कोरोनाका कारण स्वास्थ्यलाई प्राथमिकता दिईएको छ भने पूर्वाधार विका, कृषि, पशुपालन, शिक्षा, उद्यम, पर्यटनका नयाँ कार्यक्रम सहित पुराना लाई पनि निरन्तरता दिईएको छ ।

पैयुँ गाउँपालिकाले ४१ करोड ६३ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कोभिड १९ कोरोना कोषका लागि ६२ लाख र विपद व्यवस्थापनमा २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । बैदेशिक रोजगारीबाट फर्किएका यूवालाई बाँझो जमिनमा खेती गर्न लगाउने र उत्पादनमा आधारित अनुदान दिने लक्ष्य लिईएको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button