तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङ कारागारबाट फरार बन्दी पक्राउ

लमजुङ । लमजुङ कारागारबाट बुधबार फरार कैदीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । विगत साढे ७ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद भोग्दै आएका २७ वर्षीय दिनेश परियार बुधबार अपरान्ह कारागारबाट भागेका थिए ।

फरार रहेका उनलाई प्रहरी टोलीले बेंसीसहर नगरपालिका–२ भकुण्डेमुनी मस्र्याङदी नदी किनारबाट विहिवार पक्राउ गरेको हो । कारागारका जेलर विष्णुप्रसाद पौडेलका अनुसार भाग्नुअघि उनी कारागार भित्र र बाहिर पटक पटक ओहोरदोहोर गरेको कारागारमा रहेको सिसि क्यामरमा देखिएको थियो ।

लमजुङकै राईनास–१०, कोके गाउँका २७ वर्षिय परियारलाई जिल्ला अदालत लमजुङले २०६९ चैत १५ गते २० वर्ष कैद फैसला गरेको थियो ।
कारागारमा २ पटकसम्म नाइके भएका उनलाई कारागारले गत वर्ष जेठ १९ गते चौकीदारको जिम्मा दिएको थियो । चौकीदार भएपछि १ कोस टाढासम्म जानआउन पाउने अधिकार भएकाले सुरुमा उनी माथि शंका गरिएको थिएन । उनी सम्पर्कमा नआएपछि प्रहरीले उनको खोजी थालेको थियो । लमजुङ कारागारमा हाल ७३ जना कैदीबन्दी रहेकाछन् । जसमध्ये ६६ जना पुरुष र ७ जना महिला छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button