तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : विनियोजन विधेयक अन्तर्गतको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने क्रम जारी 

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत मन्त्रालयहरूका विभिन्न शिर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहनुभएको छ ।

प्रतिनिधिसभा प्रतिवेदनसहित प्राप्त भएको विनियोजन विधेयक–२०७७ अन्तर्गत मन्त्रालयगत बजेट शिर्षकहरुमाथिको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले स्थानीय तहको चालु आर्थिक वर्षको बजेटलाई निरन्तरता दिँदै स्थानीय तहका लागि नमुना कानुनको मस्यौदा निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री डा.तुम्बाहाम्फेले मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको क्षमता अभिवृद्धि, न्यायलाई छिटो छरितो बनाउने र न्यायमा सबैको पहुँच वृद्धि गर्न आवश्यक नीतिगत र कार्यक्रमगत व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

उहाँले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सरकार र संसद्को पुलको काम गर्ने मन्त्रालय रहेको भन्दै मौलिक हकसँग सम्बन्धी ऐन कानुन निर्माणमा भइरहेको प्रगतिबारे पनि जानकारी गराउनुभयो ।

विनियोजन विधेयक–२०७७ अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्रालयले महिला सशक्तीकरणभन्दा आर्थिक सशक्तीकरणमा रूपान्तरण गरेर प्रत्येक स्थानीय तहमा महिला उद्यमशील सहजीकरण केन्द्र स्थापित गरी महिला एघमशीलबाट आत्म निर्भर बनाउने तर्फ अघि बढिएको बताउनुभयो ।

यस अघि शून्य समयमा बोल्दै सांसद शारदादेवी भट्टले क्वारेन्टीनमा भएको बलात्कारमा संलग्न दोषीलाई कारबाही गर्न र महिला सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद विमला घिमिरेले मकवानपुरको सुस्मिता केसीलाई आफ्नै घरमै ढुङ्गाले किचेर मारिएकाले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद डा.विमला राई पौडेल महिला, बालबालिका तथा बृद्धबृद्धाको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमेशजंग रायमाझीले मोरङ उर्लाबारीको मङ्गलवारे अस्पतालको नाम परिवर्तन गरिएको भन्दै नाम परिवर्तन नगर्न माग गर्नुभयो ।

सांसद रामनारायण विडारीलगायतले वैदेशिक रोजगारीका बिदेसिएका नेपाली र स्वदेशमा नै रहेका युवाको हितमा सरकारबाट भएका कामबारे जिज्ञासा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button