तपाईँ सुन्दै हुनुहुन्छः

झापामा धानको बिउ ब्याडमै सुक्न थालेपछि किसान चिन्तित

फाइल तस्बिर

झापा । झापाका किसान यति बेला धानको ब्याड नै सुक्न थालेपछि थप समस्यामा परेका छन्। चैते धानमा दाना नलाग्ने, बाला तथा बोट सुक्ने र फौजी किराको समेत मार खेपेका किसान यति बेला दिक्क भएका छन् ।

रोप्न तयारी अवस्थामा पुगेको मङ्सिरे धानको बिउ ब्याडमै मर्न थालेको छ ।

दमक १० का किसान भिरेन्द्र न्यौपाने भन्नुहुन्छ, ‘जसोतसो खोजेर बिउ राखेको थिएँ, त्यो पनि मर्न थाल्यो, अब कसरी खेत रोप्नु?’

सामान्यतः किसानले मङ्सिरे धानको ब्याड जेठको पहिला सातादेखि तेस्रो सातासम्म राख्ने गर्दछन् । तर यो वर्ष छरेको बिउ ब्याडमै मर्न थालेपछि किसानहरू हैरान हुनुभएको छ ।

ब्याडमै बिउ मर्न थालेपछि त्यही बिउ रोप्ने या फेरि अर्को ब्याड बनाउने किसानहरू दोधारमा हुनुहुन्छ ।

दमक १० का अर्का किसान डम्बरुबल्लभ न्यौपाने पनि यस्तै गुनासो गर्नुहुन्छ । अहिले यस क्षेत्रका अधिकांश किसानका ब्याडका बिउ मर्न थालेको छ ।

सुरुमा पातमा रातो टीका जस्तो देखिने र त्यसपछि त्यो बढ्दै गएपछि पुरै ब्याडको बिउ मर्ने गरेको छ । धानको बिउमा यस्तो लक्षण देखिएको एक साताभित्र पुरै ब्याडमै सङ्क्रमण फैलिएर बिउ मर्ने गरेको किसानहरू बताउनुहुन्छ ।

सम्बन्धित निकायलाई स्थलगत निरीक्षण गरेर समस्याको पहिचान गरिदिन मागसमेत आफूहरूले गरेको किसान अर्जुन दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले विज्ञ तथा प्राविधिक पठाएर अनुगमन तथा निरीक्षण गरिदिए हुने ।’ नत्र किसानका खेत बाँझै रहने अवस्था आउनेमा उहाँ चिन्तित हुनुहुन्छ ।

कृषि प्राविधिकहरूले भने ब्याक्टेरिया र ब्लास्ट रोगका सङ्क्रमण ब्याडमा देखिएको बताउनुभएको छ । यसका लागि प्राविधिकको सल्लाहअनुसारै समयमै विषादी प्रयोग गर्नसके नियन्त्रणमा आउने कृषि प्राविधिक होम आङवो बताउँनुहून्छ ।

विशेष गरी सर्ना जातको धानको ब्याडमा यो रोगको सङ्क्रमण बढी देखिएको उहाँले बताउनुभयो । यो समस्या समाधानका लागि समयमै ध्यान नदिए धानको उत्पादनमै गिरावट आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button