नारायणी अस्पतालमा आजबाट अन्तरङ्ग सेवा सुचारु

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा दुई महिनापछि आजबाट अन्तरङ्ग सेवा सुचारु गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखेर सीमित सङ्ख्यामा अन्तरङ्ग सेवा सुचारु गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आपतकालिन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले २०७६चैत ३० गते पत्र पठाएर नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा गर्दै अन्य सेवा बन्द गर्न निर्देशन दिएको थियो ।
सोही पत्रको आधारमा नारायणीले २०७७ वैशाख २ गतेदेखि सर्प दंश, ज्वरो क्लिनिक बाहेकको सेवा बन्द गरेको थियो ।
पुनः स्वास्थ्य समन्वय महाशाखाले वैशाख ३० गते पत्राचार गर्दै उपचारार्थ कोभिड–१९ सङ्क्रमित डिस्चार्ज भएसँगै बहिरङ्गलगायत अन्य नियमित सेवाहरू क्रमशः सुरु गर्न निर्देशन दिएपछि नारायणी अस्पतालले सोही अनुसार जेठ १८ गते मिर्गौला रोगीहरूका लागि डायलासिस सेवा सुचारु गरेको थियो भने जेठ २० गतेबाट बहिरङ्ग सेवा समेत सुचारु गरेको थियो ।
आजबाट अन्तरङ्ग सेवा सुरु भएपछि अब मध्य तराईका बिरामीहरू सरकारी अस्पतालबाट पाउने सेवा सहजरुपमा पाउने भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्