तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकका थप एक युवामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या तीन पुग्यो


मेलम्ची । सिन्धुपाल्चोकको क्षेत्रीय क्वारेनटाइनमा रहेका एक युवामा कोरोना सङ्क्रमण देखिएको छ । इन्द्रावती गाउँपालिका घर भएका २० वर्षीय एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण हुने तीन पुगेका छन् भने एक जनाको सङ्क्रमणकै कारण मृत्यु भएको छ ।

क्वारेनटाइनमा राखिएको उनीहरूको यही २१ गते स्वाब सङ्कलन गरेर परीक्षण गर्दा पीसीआर पोजेटिभ आएको हो ।
जनस्वास्थ्य अधिकृत दुर्गादत्त चाँपागाइले मेलम्चीको रिभर रिपोर्टमा सञ्चालित क्वारेनटाइनमा बसेका ती युवामा कोरोना सङ्क्रमण भएको पुष्टि गर्नुभएको हो ।

उनी गत १४ गते नगरकोटबाट इन्द्रावती गाउँपालिकाले पठाएको बोलेरोमा जिल्ला आएका थिए । दिदी भाइ दुई जना आएकामा भाइलाई सङ्क्रमण भएको हो ।

उनीहरू दुई महिनाअघि भारतबाट नेपालगन्ज नाका हुँदै आएको र विभिन्न जिल्लामा बसेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनीहरू विभिन्न ठाउँमा पुगेको रेकर्ड देखिन्छ थप सोधपुछको काम जारी छ ।

पछिल्लो समय नगरकोटबाट उनीहरूलाई ल्याएर मेलम्ची क्वारेनटाइनमा राखिएको थियो । अहिले सङ्क्रमितसँग सम्पर्कमा रहेकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button