सिन्धुपाल्चोकमा मेसिनबाट पहिलो पटक मकै रोपियो

मेलम्ची । इन्द्रावती गाउँपालिकामा पहिलोपटक मेसिनबाट मकै रोपिएको छ । इन्द्रावती १० को ठूलीटारमा जिल्लामै पहिलो पटक ‘सिड कम फर्टिलाईजर ड्रिल’ प्रविधि मार्फत मकै रोपिएको हो ।
ठूलीटारमा सामुहिक खेतीका लागि सुरुमा किसानको जग्गालाई ठूलो ट्याक्टरले सम्याइएको थियो । सो ठाउँमा आज मेसिनको प्रयोग गरेर मकै रोपिएको हो । मेसिनले मकै र मल एकैचोटि समान दुरीमा हाल्ने गर्दछ । जसको कारण समय र मजदुरको समेत आर्थिकभार किसानलाई कम पर्दछ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको समन्वयमा ठूलीटारमा सो प्रविधिमार्फत सामूहिक मकै खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।
ठूलीटारमा तीन सय रोपनीमा मकैखेती गर्ने गाउँपालिकाको योजना भएतापनि १ सय ५० रोपनीमा मात्रै मकैबाली लगाइएको गाउँपालिकाका कृषि प्रमुख नवराज उपाध्यायले जानकारी दिनुभयो । मुल बिउँ अभावका कारण भनेजति ठाउँमा मकैैबाली लगाउन नसकिएको उहाँले बताउनुभयो । सामुहिक मकै खेतीबाट मकैको मूल बिउँ उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
गाउँपालिकाले १ सय ५० रोपनीमा लगाइएको मकैबालीबाट १५ सय टन मकैको बिउँ उत्पादन गर्ने लक्ष्य राखेको कृषि प्रमुख उपाध्यायले बताउनुभयो । उक्त उत्पादित बिउँ गाउँपालिका तथा मकै जोन कार्यक्रमले किनेर किसानलाई उक्त बिउँ बराबरको पैसा दिनेछ । यो सामुहिक खेतीका लागि प्रदेशबाट समेत ठूलीटारमा बजेट परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्