दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन निर्देशन
कानुन न्याय तथा मानव अधिकार समितिले रुकुमको चौरजाहारिमा जातीय विभेदका आधारमा भएको घटनाको निश्पक्ष छानवीन गरी दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरवारमा बसेको बैठकले रुकुम घटनापछी वेपत्ता भएका एक जना व्यक्तिको खोजीलाई तिव्रता दिन र घाइतेको निशुल्क उपचार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले दलित समुदयमाथि श्रृखलावद्ध विभेद र हिंसाका घटनाहरु भैरहेको भन्दै सबै प्रकारका जातीय हिंसाका स्वरुपहरुको अन्त्य गर्नका लागि नेपाल सरकारलाई महाअभियान नै सञ्चान गरी अघि बढ्न निर्दैशन दिएको छ ।
समतिले दलित माथिको हिंसा र विभेद अन्त्यको विषयमा छानविन गर्न नेपाल प्रहरी भित्र दलित सेल गठन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
यस्तै लकडाउनको समयमा महिला र बालबालिका माथि हिंसा, शोषण, दुव्र्यवहार, र बलात्कारका घटना समेत भएकाले त्यसलाई रोक्न र उनीहरुको सुरक्षाको प्रबन्ध गर्न तथा महिला, बालबालिका र जेष्ठ नागरिकलाई छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
क्वारेन्टिन मापदण्ड अनुरुप सञ्चालन नभएको देखिएको भन्दै तीनै तहको सरकार मिलेर क्वारेन्टिनको प्रवन्ध गर्न तथा सुरक्षीत आवास, खाना र स्वास्थ्यको अधिकार सुनिश्चित हुनेगरी क्वारेन्टिनको व्यवस्थापन गर्न नेपाल सरकारलाई कानुन समितिले निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको जानकारी दिनुहुदै तीनै तहको सरकारले अनुसन्धान गरिरहेको र छानबिन समितिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
गृहमन्त्री थापाले जातीय अन्तरविरोधका कारण घटना भएको देखिएको भन्दै राज्य कानुन कार्यन्वयन गर्न र दोषीलाई कडाभन्दा कडा कारवाही गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
गृह मन्त्री थापाले समाजमा जातीय आधारमा हुने यस्ता घटनाको अन्त्यका लागि मानिसको सोच र संस्कारमा नै परिवर्तन आउनु पर्ने बताउनु भयो ।
छलफलमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताउनु भयो ।
महान्यायाधिवक्ता खरेलले रुकुम पश्चिमको घटनामा युट्युब र अनलाइन मिडिया मार्फत बाहिर प्रचारमा आए जस्तो अनुसन्धानका क्रममा नदेखिएको समेत बताउनुभयो ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले माया प्रेमको विषयबाट रुकुम घटना उब्जिएको भन्दै घटनामा पीडित पक्षले २० जनाविरुद्ध किटानी जाहेरी दिएको र १८ जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
घटनाको गाम्भीर्यतालाई हेरेर संघीय प्रहरी इकाइ नेपालगञ्जबाट एसएसपीको नेतृत्वमा टोली पठाएको र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीबाट पनि टोली पठाइएको समेत प्रहरी महानिरीक्षक ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुमको चौरजाहारी घटनाको निश्पक्ष छानविन हुनु पर्ने, तत्काल दोषीलाई कारवाहीको दायरामा ल्यानु पर्नेमा जोड दिनुभयो ।
रुकुम चौरजाहारीको घटना मानवता विरोधी घटना भएको भन्दै सांसदहरुले घटनाको छानवीनको संसदीय समिति बनाउनुपर्ने, यस्ता घटना दोहोरिन नदिने तर्फ बहस र छलफल गर्नुपर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्