कोरोना सङ्क्रमणबाट बच्न थप बजेटसहित बजेट विनियोजन गरिएको अर्थमन्त्रीको भनाई
काठमाडौँ। अर्थमन्त्री डा.युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछिमात्र निकासा हुने गरी बजेटमा समेटिएको बताउनुभयो ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डा.खतिवडाले वैदेशिक सहयोगहरू राष्ट्रिय हितमा रहने भन्दै राष्ट्रिय प्राथमिकताको आधार खर्च गरिने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा. खतिवडाले चालु खर्चभित्र कतिपय पूजिगत प्रकृतिका खर्चहरू पनि समावेश भएकाले चालु खर्चबढि देखिएको र त्यसमा मितव्ययिता अपनाइने बताउनुभयो ।
उहाँले अघिल्लो वर्षको तुलनामा स्वास्थ्य क्षेत्रमा दोब्बर बजेट छुट्ट्याइएको स्पष्ट पार्दै कोरोना सङ्कटका लागि थप ६ अर्व रकम विनियोजन गरिएको समेत बताउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सीपदेखि पुँजी र बजारदेखि प्रविधिसम्मलाई ध्यान दिएर बजेट व्यवस्थापन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै सङ्घीयता कार्यान्वयनमा बजेटको एक तिहाइ अंश स्थानीय तहमा गएको स्पष्ट पार्नुभयो ।
तराई– मधेसका क्षेत्रका विनियोजित बजेटका सन्दर्भमा सांसदहरुले उठाएको प्रश्नमा अर्थमन्त्री डा.खतिवडाले वित्त आयोगको सूत्र अनुसार नै बजेट विनियोजन गरिएको र तराई–मधेस केन्द्रित छुट्टै आयोजनालाई समेत बजेट विनियोजन गरिएको बताउनुभयो ।
अर्थमन्त्री डा.खतिवडाले संस्थागत विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्यको वातावरण तयार गरिए पनि सामुदायिक विद्यालय निजीलाई हस्तान्तरण गर्न नखोजिएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा.खतिवडाले कोरोनाको सङ्क्रमण र लकडाउनमा कारण मुलुकको आर्थिक क्रियाकलाप रोकिएकाले केही समयपछि सुचारु हुने र आर्थिक वृद्धिदर औसतमा पुग्ने लक्ष्य राखिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्