पश्चिमी नाका नजिकै फहराइयो नेपालको झन्डा

कञ्चनपुर । १३औँ गणतन्त्र दिवस कञ्चनपुरमा फरक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कञ्चनपुरको गड्डाचौकीमा राष्ट्रिय झन्डा फहराइएको हो ।
१३औँ गणतन्त्र दिवसको अवसर पारी नेपाल प्रवेशको पश्चिमी सीमा नाका नजिकै रहेको गड्डाचौकीमा ७७ फिटको स्तम्भमा नेपाली झन्डा फहराइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।
नेपाल र नेपालीको पहिचानका लागि भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाका नजिकै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको प्रमुख आतिथ्यतामा झन्डोत्तोलन गरिएको हो ।
झन्डोत्तोलनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले पश्चिमी नाकामा राखिएको झन्डाले राष्ट्रको प्रतिनिधित्व गरेको बताउनुभयो ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पश्चिमी नाकामा फहराएको झन्डाबाट नेपाल र नेपालीको पहिचानलाई विश्वभर थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कोरोना भाइरसको महामारीका कारण १३औँ गणतन्त्र दिवस विशेष कार्यक्रमलाई सामान्य रूपमा मनाइएको उल्लेख गर्दै नगरप्रमुख विष्टले सो कार्यक्रमबाट देशभर भावनात्मक एकताको सन्देश प्रवाह भएको दाबी गर्नुभयो ।
नगरप्रमुख विष्टले नाकामा झन्डा फहराउन वडा कार्यालयसहित विभिन्न क्षेत्रका सरोकारवालाको सहयोग रहेको बताउनुभयो । भीमदत्त नगरपालिकामा गत वर्षदेखि झन्डा फहराउने कार्य सुरु गरिएको थियो ।
नगरपालिकाले झन्डासँगै पार्क निर्माण गर्ने योजना समेत बनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्