तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको नीति कार्यक्रम पारित

मकवानपुर । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख विष्णु प्रशाईंले मंगलबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमको पक्षमा नेकपा सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने अन्य दलहरु रहेका थिए । नीति तथा कार्यक्रममा सांसदहरु रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

नीति तथा कार्यक्रममा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलले दिनुभएको छ । उहाँले कोभिड–१९ रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको दाबी गर्नुभयो । हालसम्म १७ करोड रुपैयाँ खर्च गरिसकेको र स्थानीय तहलाई आवश्यकताका आधारमा अझै थप बजेट उपलब्ध गराइने उहाँले बताउनुभयो ।

उहाँले सांसदहरुले भने जस्तो कोरोना नियन्त्रणमा सरकार उदासीन नभएको दाबी गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र स्वास्थ्य क्षेत्रमा गर्ने कार्यहरु पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको बताउनुभयो ।

आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले कृषि क्षेत्रमा दिँदै आएको अनुदान बैंकमार्फत् दिइने बताउनुभयो । उद्योगीलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो । कोरोना भाइरको जोखिमका कारण प्रदेशसभाको बैठकलाई छोट्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button