क्वारेनटाइनको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोरोना महामारी, नेपालको नयाँ नक्सा र उत्पन्न समस्या समाधान तथा कृषि, बिउ र मलको तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बैठकमा सांसदहरुले गर्मी बढ्दै गएको र अब वर्षातको समय सुरु हुन लागेको भन्दै डब्लुएचओ (ध्ज्इ० को मापदण्ड अनुसार क्वारेनटाइन र अस्पतालको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले छिमेकी मुलुक भारतबाट स्वदेश फर्कने नेपालीको सङ्ख्या दिनानुदिन बढेको कारण रोगको जोखिम पनि उच्च बन्दै गएकाले उनीहरूको सुरक्षित व्यवस्थापनका लागि विशेष ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेको नक्सा सार्वजनिक गर्दा गर्व महसुस भएको भन्दै अब ढिला नगरी उक्त भूमि फिर्ता गर्न उच्च कूटनीतिक पहल गरेर अगाडी बढ्न सरकारसँग आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरुले सर्वदलीय बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो प्रक्रियाबाट पारित गर्ने भनी भएको निर्णय सकारात्मक भएको भन्दै यस्ता संसदीय गतिविधिका निर्णयहरू प्रधानमन्त्री वा संसदीय मामिला मन्त्रीले सदनलाई जानकारी गराउने चलनको प्रारम्भ गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले तीन जनाको ज्यान जाने र तीन जना बेपत्ता हुने गरी अन्तरजातीय प्रेम सम्बन्धले रुकुम पश्चिममा निम्त्याएको घटनाको छिटो तत्काल छानबिन गरी दोषीलाई कारबाही गरेर सबैलाई न्यायको अनुभूति गराउन माग गराउनुभयो ।
कुनै पनि घटनामा अति राजनीति करण हुँदा दोषी उम्कने र पीडितले सजाय नपाउने सम्भावना बढेर जाने भन्दै रुकुम पश्चिमको चौरजाहारी घटनामा राजनीतिकरण नहोस् भन्ने कुरामा सतर्क रहन समेत सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्