उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने गरी राहत प्याकेजको घोषणा गर्न माग
बुटवल । रुपन्देही उद्योग संघले उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने गरी राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण विश्व अर्थतन्त्रको भविष्यसँगै नेपाली अर्थतन्त्र समेत धरापमा पर्ने सम्भावना बढेको भन्दै संघले राहत प्याकेजको माग गरेको हो । लामो समयको लकडाउनका कारण नेपालको औद्योगिक क्षेत्र तहसनहस हुनुका साथै यसको प्रभावले अर्बौको घाटा र लाखौंको रोजगारी समेत गुम्ने खतरा बढेपछि उद्योग सञ्चालनका लागि बैकल्पिक उपाय अवलम्बन गर्नका लागि माग गरेको छ ।
बैंक ब्याजदर २ प्रतिशतले कम गर्ने र ब्याजमा १० प्रतिशत छुट दिने सरकारले घोषणा गरे पनि त्यसले मात्रै प्रयाप्त नहुने तथा घोषणा अनुसार पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको अध्यक्ष बाबुराम बोहोराले बताउनुभयो ।
सरकारले ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने भने पनि उद्योग सञ्चालन गर्ने वातावरण बन्न नसकेको तथा उद्योग सञ्चालनका लागि थप बैकल्पिक उपायहरु अवलम्वन गर्नुपर्ने अपरिहार्य रहेको उहाँको भनाइ छ ।
संघले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुले प्रयोग गरिरहेको कर्जाको लकडाउन अवधीको ब्याजदरमा ५० प्रतिशत छुट गरिनुपर्ने र ब्याजलाई किस्तावन्दीमा विलम्व शुल्क र थप ब्याज नलाग्ने गरी लक डाउन खुलेको ६ महिना भित्रमा तिर्ने व्यवस्था मिलाउनुपर्ने तथा उद्योगहरुले लिएको आवधिक कर्जाको किस्ता भुक्तान गर्ने समय लक डाउन समाप्तीको १ बर्ष पछि सारिनु पर्ने लगायतका माग राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्