भारतबाट ट्रक चढेर आएका थिए कचनकवलका १० जना कोरोना सङ्क्रमित
झापा । झापाको कचनकवलमा कोरोना भाइरसको सङ्क्रमण भेटिएका १० जना भारतबाट ट्रक चढेर आएको खुलेको छ ।
रोजगारीमा भारत गएका उनीहरू भारतको विभिन्न शहरबाट एक साताअघि ट्रक चढेर नेपाल प्रवेश गरेको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले बताउनुभयो ।
भारतसँग सिमाना जोडिएको दक्षिणी झापामा पर्ने यो गाउँपालिका आजबाट ‘सिल’ गरिएको छ । कोभिड–१९ का १० जना बिरामी भेटिएपछि पुरै गाउँपालिकामा आवतजावत बन्द गरिएको आलमले जानकारी दिनुभयो । “हिजोसम्म पाँच वटा वडा ‘सिल’ गरेका थियौं तर जोखिम झन धेरै देखियो अहिले सात वटै वडामा कडाइ गरेका हौं”, उहाँले भन्नुभयो ।
भारतबाट फर्किएकाहरू एक सयभन्दा बढी क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बस्तीमा भने बिरामी नदेखिएकोले थप सङ्क्रमण फैलिन नदिन सावधानी अपनाइएको छ ।
कचनकवलमा जेठ ५ र ६ गते गरी १० जना कोराना सङ्क्रमित भेटिए थिए । उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू थिए ।
गाउँपालिकाको १ देखि ५ सम्म पाँच वटा वार्ड भारतसँग सीमा जोडिएको छ ।
अब भारतबाट अब फर्कनेहरूका लागि केचनाको महेन्द्ररत्न माविमा एक सय बेडको थप क्वारेन्टाइन निर्माणको काम शुरू गरिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्