थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमितको सङख्या ४०२ पुग्यो

काठमाडौं । आज थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या चार सय दुई पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज विभिन्न जिल्लाका २४ जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार झापामा नौ जना, कपिलवस्तुमा चार जना काठमाडौँमा तीन जना, सर्लाहीमा दुइ जना र भक्तपूर, ललितपूर, सिन्धुली, लम्जुङ, मकवानपूर, रामेछाप, सुनसरी, नवलपरासी, मोरङमा एक÷एक जना गरी थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुिष्ट भएको छ ।
नेपालमा हालसम्म ३६ जिल्लाका तीन सय ४० जना पुरूष र ६२ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएका मध्ये दुई जनाको मृत्यु भएको छ भने ३७ जना उपचार पछि निको भई घर फर्किएका छन् ।
यसैगरी काठमाडौँको कालिमाटी, गंगबु, भृकुटीमण्डप लगायतका क्षेत्र तथा सरसफाईका कर्मचारीहरू दुई हजार दुई सय ३६ जनाको आर डि टि र एक हजार १९ जनाको पिसीआर विधिवाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार भृकुटीमण्डप र गंगबु क्षेत्रबाट लिइएका केही नमुनाहरुको नतिजा आउन बाँकी छ भने नतिजा प्राप्त भएका सबैमा कोरोना भाईरसको सङ्क्रमण देखिएको छैन ।
हालसम्म नेपालमा कूल ३२ हजार छ सय चार जनाको पिसीआर तथा ७४ हजार छ सय ४९ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ८० जनाको पिसिआर र पाँच हजार ८९ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्