वीरगन्जका ९६ जना कोरोना सङ्क्रमितलाई डब्लुएचओको मापदण्ड अनुरूप पोसिलो खाना
बीरगंज । बीरगंजको नारायणी अस्पताल र सिद्धार्थ माविको सेमी आइसोलेसनमा रहेका ९६ जना कोरोना सङ्क्रमितले आजबाट विश्व स्वास्थ्य सङ्गठनले तोके बमोजिमको पोषिलो खाना र खाजा पाएका छन् ।
गैर सरकारी संस्था सानो पाइलाले अस्पतालमा उपचाररत सङ्क्रमितहरुलाई पोषिलो खाना र खाजा आज बिहानदेखि खुवाउन सुरु गरेको हो ।
अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो ।
सानो पाइलाले सङ्क्रमितहरुका लागि बिहानको खाजामा दुई वटा रोटी, आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ, अंगुर र एक गिलास दूध खुवाएको नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत सङक्रमित सञ्चारकर्मीले जनाएका छन् ।
अस्पतालमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी नारायणी अस्पताल र महानगरपालिकाले सानो पाइलालाई दिएको थियो ।
सङ्क्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना सङ्क्रमित पत्रकारले चाउचाउ खाएर हामी कोरोनासँग लड्दैछौं भनेर स्वास्थ्यमन्त्रीलाई लेखेको पत्रले सबैको ध्यान केन्द्रित गराएको थियो ।
सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले आइसोलेसन कक्षमा रहेका बिरामीहरुलाई खाना र खाजा खुवाउने अवसर दिएकोमा सबै प्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।
अधिकृत झाका अनुसार नारायणी अस्पतालमा रहेका ७१ र सिद्धार्थ माविको आइसोलेसन कक्षमा रहेका २५ जना सङ्क्रमितहरुलाई खाना तथा खाजाको व्यवस्था गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्