तपाईँ सुन्दै हुनुहुन्छः

भोक भोकै मर्नुपर्ने भो

दोलखा । धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकका व्यवसायीक महिलाहरु अहिले फुर्सदमा हुनुहुन्छ । लक डाउनको यो अवधिमा उहाँहरुको दैनिकी साग टिप्ने, केलाउने, ढोको बुन्ने, परिवारको लागि खाना बनाउने र घरको सरसफाई गर्ने काममा वित्ने गरेको छ । व्यवसायी पुरुषहरु पनि एक दुई जनाको समूहमा गफिनमै व्यस्त देखिन्छन् ।

कुरीमा रहेको घरको दैलोसंगै पिढीमा बसेर साग केलाउन व्यस्त होटल व्यवसायी ढिकी शेर्पा लक डाउनका कारण व्यवसाय बन्द भएपछि छाक टार्नै समस्या हुने गरेको गुनासो गर्नुहुन्छ । हेर्दा फुर्सदमा छौ, बाहिर हाँसी खुशी नै बसेका छौ तर मनमा अथाह पीडा छ – ढिकीले भन्नु भयो ।

कालिञ्चोकको प्रस्तान विन्दु कुरीमा अहिले झण्डै ६० वटा साना तथा ठूला होटलहरु रहेका छन् । लक डाउन सुरु भएको ०७६ चैत्र ११ गतेदेखि बन्द भएको कालिञ्चोकको व्यवसाय कैले लयमा फर्कने हो भन्ने कुनै अनुमान गर्न सकिने अवस्था नभएको व्यवसायीहरुको गुनासो छ ।

कोरोना सङ्कट सुरु भएपछि लक डाउन अघि होटलमा काम गर्ने बाहिरका कामदारहरु घर फर्किएको भएपनि घर बनाउन इलामबाट आएका मजदुर र होटल व्यवसायी गरी अहिले पनि कालिञ्चोकमा ढेड दुई सय मानिस रहेको प्रहरी चेक पोष्ट कालिञ्चोकका प्रहरी हवलदार नरेन्द्र यादवले बताउनु भयो ।

कोरोना संक्रमणको भयका कारण कालिञ्चोकमा नयाँ मानिसलाई प्रवेश नदिईएको र मन्दिरमा बली तथा पुजा समेत बन्द भएको प्रहरी हवलदार यादवले बताउनु भयो ।

तीन हजार आठ सय मीटरको उचाँईमा रहेको कालिञ्चोकको मुख्य आकर्षण भनेको टाकुरोमा रहेको कुण्ड हो । अग्लो टाकुरोमा सधै जलयुक्त कुण्ड हुनु कालिञ्चोकको मुख्य विशेषता भएको स्थानिय जेष्ठ नागरिकहरु बताउछन् । कालिञ्चोकमा पुग्ने पर्यटकहरुले आफ्नो मनोकामना पूरा होस् भन्दै घण्टा र त्रिशुल चढाउने गर्दछन् ।

कालिञ्चोकमा चैत्र देखि असोज कार्तिकसम्म पर्यटकहरु पुग्ने गर्छन । चिमाल फुल्ने, मौसम पनि तातो र सफा हुने तथा विद्यार्थीहरुको पनि विदाको समय हुने भएकोले बैशाख जेठ दुई लाख भन्दा बढी पर्यटक आउने गरेकोमा लक डाउनका कारण होटल व्यवसाय ठप्प भएपछि खाने समेत समस्या भएको स्थानिय होटल व्यवसायी नवराज पाख्रिनको गुनासो छ ।

दुई तीन महिनाको व्यवसायले बर्ष भरी खाने र ऋण समेत तिर्नु पर्ने बाध्यताका बीच कोरोना महामारी पछिको लक डाउनले सबैलाई ठूलै पीडा भएको नवराजको भनाई छ । जेठ भरी पनि कोरोना महामारीमा कमी भएन भने कालिञ्चोकका वासिन्दा भोक भोकै वस्नु पर्ने अवस्था आउने उनी बताउछन् ।

यो सिजनमा कालिञ्चोकमा १० करोड भन्दा बढीको व्यापार हुने गरेको स्थानिय होटल व्यवसायीहरुको भनाई छ । आफ्नो होटलमा बैशाख जेठमा मात्र एक ढेड करोडको व्यवसाय हुने गरेकोमा अहिले होटल रुगेर बस्ने काममात्र भएको कुरीमा रहेको होटल मिराकलका प्रोपाईटर राजु खड्का बताउनु हुन्छ । ठूलो आर्थिक लगानीमा भर्खरै होटल सञ्चालन गरेको तर कोरोनाका कारण अहिले खाने समेत समस्या होला जस्तो भएको प्रोपाईटर खड्काको गुनासो छ ।

कुरीमा रहेको जग्गा गुठी, गाँउपालिका वा वन कार्यालय कस्को हो भन्ने विवाद लामोसमय देखि रहदै आएको छ । स्थानिय चन्द्र तमाङ जग्गा विवादका कारण पनि कालिञ्चोकका वासिन्दालाई लक डाउनबाट कस्तो समस्या छ भनेर कतैबाट पनि सोध खोज नभएको बताउनु हुन्छ ।

जग्गा विवादले न कतैबाट सहयोग होला भन्ने आश छ, न व्यवसाय चाँडै लयमा फर्कने कुनै संभावनानै छ चन्द्रले भन्नु भयो– त्यसैले हामी भोक भोकै मर्नुको विकल्प नहोला जस्तो भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button