‘कृषि विकास र उत्पादनका ठोस योजना ल्याइनुपर्छ’

काठमाडौं । कोरोना संक्रमणबाट उत्पन्न परिस्थिीति र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्नेमा सांसदहरुले जोड दिनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै संसदहरुले स्वास्थ्य सेवाको बिस्तार, आर्थिक विकास, रोजगारीको सिर्जना तथा कृषि उत्पादनको विकासका लागि ठोस योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
बैठकमा सत्तापक्ष दलका सांसदहरुले कोरोना संकट, कृषि उत्पादन र सिमा सुरक्षालाई प्राथमिकतामा राखेर बजेट आउनु पर्ने बताउनुभयो ।
उहाँहरुले सुखी नेपाली तथा समृद्ध नेपालको सपना पुरा गर्ने एवं कोरोनाका कारण रोजगारी गुमाएका युवा जनशक्तिलाई कृषि क्षेत्रमा जोड्ने र रोजगारी प्रदान गर्ने गरी बजेट आउनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले कोरोनाले महासंकट उत्पादन गरेको अवस्थामा विशेष योजना सहितको बजेट आउनु पर्ने भन्दै न्युनआय भएका र बेरोजगार नागरिकहरुको जीवनस्तर माथि उकास्ने तर्फ ध्यान दिइनु पर्ने समेत बताउनुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभावको अनुमान गरेर मात्रै बजेट ल्याउनु पर्ने बताउनुभयो ।
उहाँहरुले स्वास्थ्य क्षेत्रको सुधारमा बिशेष जोड दिदै कोरोना पछिको अवस्थामा नागरिकको जीवन रक्षा गर्ने र आउन सक्ने संकटलाई सम्बोधन गर्ने गरी अगाडी बढ्नु पर्ने बताउनुभयो ।
सांसदहरुले आर्थिक क्षेत्रको सुधार र विकास गर्न आगामी पाँच वर्षसम्मका लागि ठोस रणनीतिको विकास गर्नु पर्ने तथा हुलाकी मार्गको निर्माण, चुरे संरक्षण, तटबन्द निर्माण तथा सिंचाइ आयोजना निर्माणमा बजेटले ध्यान दिनु पर्ने बताउनुभयो ।
आवश्यकताको सिद्धान्त र समानताको आधारमा सबै क्षेत्रमा बजेट बितरण गर्ने व्यवस्था हुनु पर्ने बताउदै सांसदहरुले ग्रामिण विकास र कृषि उत्पादनको बजारीकरण र औद्योगिकरण गर्ने तर्फ बजेट केन्द्रित हुनु पर्नेमा समेत जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्