तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाइ

फाइल तस्बिर

मकवानपुर । मकवानपुरमा बाहिरी जिल्लाका मानिस प्रवेशमा थप कडाई गरिएको छ । आजबसेको कमाण्ड पोष्टको बैठकले अति आवश्यक कामका सन्दर्भमा  बाहिरी जिल्लाबाट आउने कर्मचारीलाई समेत अनिवार्य पिसीआर परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा बसेको बैठकले बाहिरी जिल्लाबाट अति आवश्यक परेर आउनु परेमा पिसीआर परिक्षण पश्चात मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय गरेको छ ।

यसअघि अन्य जिल्लाबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गर्ने गरिएको भए पनि आजबाट भने पिसीआर परिक्षण पश्चार मात्र प्रवेश गर्न दिने निर्णय गरेको उहाँले बाउनुभयो ।

उहाँले जिल्लामा विकास निर्माण, कृषि उपज एवम् उद्योग सञ्चालन भएको हुनाले ती कार्यका लागि अति आवश्यक मानिस अन्य जिल्लाबाट आउनु परेमा अनिवार्य पिसीआर परिक्षण गरेर मात्र प्रवेश गर्न दिइने बताउनुभयो ।

बाहिरी जिल्लाबाट आएका भीमफेदी गाउँपालिकाका एक कर्मचारीमा हिजो आरडीटी परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएपछि जिल्लामा थप कडाई गरिएको हो । ती कर्मचारीको पिसीआर परिक्षणमा भने रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै बैठकले स्थानीय तहमा सञ्चालित विकास निर्माण कार्यका लागि सवारी साधनलाई सिफारिस दिँदा स्थानीय तहका प्रमुख अथवा प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा मात्र दिनुपर्ने निर्णय गरेको छ ।

सवारी पासको दुरुपयोग रोक्नका लागि स्थानीय तहका प्रमुख वा प्रमुख प्रशासकिय अधिकृतको सिफारिसमा मात्र सवारी पास उपलब्ध गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।

स्थानीय तहलाई त्यस्ता सवारी साधनको नम्बर, कामको प्रकृति, प्रयोजनलगायत खुलाएर तथ्य बुझेर मात्र सिफारिस गर्न र सिफारिस गरिएका सवारी साधनका बारेमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा अनिवार्य जानकारी गराउनु पर्ने निर्णय गरेको प्रजिअ नेपालले बताउनुभयो ।

सवारी चालकसँग स्थानीय तहले दिएको सिफारिस पत्र हरदम साथमै हुनु पर्ने समेत उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले जिल्लामा उत्पादित तरकारी बिक्री वितरणका लागि सहकारीमार्फत पहल गर्ने निर्णय गरेको छ । सहकारी संस्थाहरुसँग आजै दिउँसो छलफल गरेर कुन मोडलमा जाने भन्ने बारे थप निर्णय गरिने उहाँले बताउनुभयो ।

साथै जिल्लामा रासायनिक मल उपलब्ध गराउने सन्दर्भमा मल आपुर्तीका लागि पहल भएको समेत प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बिरगंजबाट ७५ टन युरीया मल आपुर्ती गर्ने व्यवस्था मिलाइएको समेत बैठकमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button