तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनले बारा, पर्सा, रौतहटका माछा किसान समस्यामा

बीरगंज । बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरुमा अहिले लकडाउनका कारण माछा कृषकहरु मर्कामा परेका छन् ।

किसानहरुले पालेको माछा बिक्री नहुँदा किसानहरु समस्यामा परेका हुन् ।

प्रहरी प्रशासन र स्थानीय निकायबीच तालमेल नहुँदा किसानहरु मर्कामा परेका पर्साको बिन्ध्यवासिनी गाउँपालीका वडा नं. ४ झौवा गुठिका माछापालन गर्ने किसान भिम साह कानुले गुनासो व्यक्त गर्नुभयो ।

कानुले दुई बिगहा १६ कट्ठाको पोखरी गुठि संस्थानबाट भाडा लिई माछा पालन गर्दै आउनु भएको छ ।

करीव ११ लाख जतिको खर्चमा माछाको भुरा पोखरीमा राखेको र अहिले रोहु, इजराईल र बिग्रेड जातको माछा ७ देखि ८ लाख सम्मको तयारी अवस्थामा रहेको कानुले बताउनुभयो । माछाको बिक्री वितरणका लागि जिल्ला प्रशासनसँग पास माग्दा उपलब्ध नभएको कानुले गुनासो गर्नुभयो ।

आफुले स्थानीय शसस्त्र प्रहरीदेखि पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तसँग समन्वय गरी सामाजिक दुरी कायम गरेर माछा मार्ने अनुमति लिए पनि तल्लो तहका प्रहरीहरुले आएर कागज छैन् भनि माछा नमार्न चेतावनी दिने गरेको बताउदै उहाँले यस्तो बेलामा मैले पास र कागज कहाँबाट ल्याउने भनि प्रति प्रश्न गर्नुभएको छ ।

माछा बिक्री गर्ने बेला बिक्री नभएपछि उल्टो दाना खुवाउनु पर्ने समस्यासँगै दाना पनि नपाउने अवस्थाले किसानहरु दोहोरो मारमा परेको बाराका माछा किसान अजय पटेलले बताउनुभयो ।

पटेलले परवानी गाउँपालिका वडा नं.५ मा रहेको १४ बिगहा क्षेत्रफलमा माछा पालन गर्नु भएको छ । बारा जिल्लालाई सरकारले माछा जोनको रुपमा घोषणा समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button