तपाईँ सुन्दै हुनुहुन्छः

तल्लोमोदीको उत्पादन अन्यौलमा

पर्वत । दुई वर्षअघि नै उत्पादन दिने लक्ष्यसाथ ०६९ असारबाट सुरु भएको तल्लो मोदी जलविद्युत् आयोजनाबाट तत्काल उत्पादन नहुने भएको छ । टनेलभित्र देखिएको समस्याका कारण ०७४ असारभित्रै उत्पादन सुरु गर्ने भनिए पनि २० मेगावाटको आयोजना उत्पादन मितिबारे अन्योल उत्पन्न भएको हो ।

सबै काम सकेर परीक्षण उत्पादनका लागि पानी पठाउने क्रममा टनेल चुहिएपछि आयोजना पक्ष मर्मतमा जुटेको छ । आयोजना पक्षको ध्यान परियोजना सक्ने भन्दा पनि विश्वभर फैलिएको कोरोना भाईरस तिर छ । कोरोनाका कारण भारतयि कामदार घर गएर फर्किएर आएका छैनन् । टनेलको धेरैजसो ठाउँमा पानी चुहिने समस्या समाधान गर्न केही समय लाग्ने आयोजनाले बताएको छ । जसका कारण अब उत्पादन मिति यही समयमा हुन्छ भनेर सार्वजनिक गर्न नसकिने आयोजना प्रमुख पवनकुमार यादवको भनाइ छ । स्थानीयले आयोजनाको टनेल डिजाइनकै क्रममा कमजोरी भएको दाबी गरेका छन् । आयोजना पक्षले भने डिजाइनमा कुनै शंका नरहेको प्रस्ट्याएको छ ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएपछि अहिले मर्मत भइरहेको छ । परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि सबै रोकेर मर्मत थालिएको हो । कम्पनीका अनुसार अडिट २ को पाँच सय मिटरभित्रको टनेलमा पानी चुहिने समस्या देखिएको छ । कडा चट्टान क्षेत्रका बीचबीचमा छिद्र रहेका कारण पानी चुहिने समस्या देखिएको प्राविधिकले बताएका छन् ।

अहिले चट्टानमा रहेका छिद्रहरूमा ग्राउन्डिङ गर्ने काम केही समयभित्रै सकेर परीक्षण उत्पादन थाल्ने आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले बताउनुभयो । पानी चुहिने समस्या तत्कालका लागि सामान्य लागे पनि आसपासमा भएको बस्ती र टनेल सँगसँगैको मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डमा आइपर्न सक्ने जोखिमलाई ध्यानमा राखेर कंक्रिटिङ र ग्राउन्डिङको काम भइरहेको बेल्वासेले बताउनुभयो ।

कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावर हाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म ४ हजार २ सय मिटर लामो टनेल छ । साउथ एसिएन इन्फ्रास्टक्चर लिमिटेडले सुरुङ निर्माणको काम सकेको थियो । विद्युत् आयोजनाको कम्पनीलाई जिम्मा नलगाउँदै टनेलमा समस्या देखिएका कारण मर्मतको जिम्मा पनि साउथ एसियन कम्पनीले नै लिनुपर्ने आसय निर्माण कम्पनीको छ । तर यस विषयमा कुनै कुरा नभएको प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button