सौराहाका व्यवसायीहरुले नै घाँसे मैदान व्यवस्थापन गर्ने

चितवन । वन, वन्यजन्तु संरक्षणका लागि स्थानीय पर्यटन व्यवसायीहरुले नै घाँसे मैदान व्यवस्थापन गर्ने भएका छन् । वन्यजुन्त संरक्षण तथा पर्यटकहरुलाई समेत सहज रुपमा वन्यजन्तु अवलोकन गराउन पहिलो पटक स्थानीय पर्यटन व्यवसायीहरुकै पहलमा चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन गर्ने भएका हुन् ।
यसअघि निकुञ्जले बिभिन्न दाताहरुको सहयोगमा मात्र यसको व्यवस्थापनमा सक्रियता देखाएपछि पछिल्लो समयमा जन सहभागिता बिना घाँसे व्यवस्थापन हुन नसक्ने भन्दै व्यवसायीहरु नै अग्रसर बनेको निकुञ्ज जीप सफारीका अध्यक्ष टिकाप्रसाद कडेँलले जानकारी दिनुभयो ।
सौराहा हात्ती तथा जीप बुकिङ्ग सेन्टर, निकुञ्ज जीप सफारीको अगुवाईमा बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन र रत्ननगर नगरपालिकाको संयुक्त सहकार्यमा घाँसे मैदान व्यवस्थापन हुने क्षेत्रीय होटल संघ सौराहाका बरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी गारउनुभयो । पर्यटन व्यवसायी पैसा कमाउन मात्र नभई वन वन्यजन्तु जौविक विविधता संरक्षणमा पनि सक्रिय छन् भन्ने यो कामले थप उदाहरण दिनेछ खनालले भन्नुभयो, जसले मानव र वन्यजन्तुबीचको द्वन्द्व समेत कम गराउने अपेक्षा छ ।
उहाँले स्थानीय पर्यटन सम्बद्ध बिभिन्न संस्थाहरुको अगुवाई पहिलो चरण ६० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन सुरु गर्न लागेको पनि बताउनुभयो ।
नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि र पर्यटकहरु समेत वनमा जाँदा सहज रुपमा जनावरहरु देख्न सकुन भनेर काम सुरु गर्न लागेको व्यवसायीहरुको भनाई छ ।
पहिलो चरण निकुञ्जको १९ किलोमिटर जीप सफारीको रुट हुने जिरो मचान, कछुवानी पोष्ट र डुमारिया पोष्टको ६० हेक्टरमा मेसिन लगाएर घाँसे मैदान व्यवस्थापन हुनेछ ।
घाँसे मैदान व्यवस्थापनमा सातदेखि १० लाख रुपैयाँ लगानी लाग्ने र व्यवसायी तथा अन्य संस्थाको सहकार्यमा व्यवस्थापन हुने व्यवसायीले बताएकाछन् । अग्ला ठूला ढड्डी फाँड्ने, घाँसलाई अतिक्रमण गर्ने झार र बुट्यान उखेल्ने, अग्ला घाँस काट्ने जस्ता काम व्यक्तिमार्फत गरिँदै आएकोमा व्यवसायीहरुले यो पटक अत्याधुनिक मेसिनमार्फत यसको व्यवस्थापनमा जुट्न लागेका हुन् ।
निकुञ्ज बिशेष गरेर एकसिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात छ ।
यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, चार सय ५० प्रजातिका चराचुरूङ्गी र ४५ प्रजातिका जलथल तथा घस्रने प्राणीसँगै एकसय भन्दा बढी जातका माछा पाइन्छ । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गुर बाँदर आदि पर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्