उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने
ललितपुर-विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन ।
मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात झिकिसकेको छ ।
श्रीलङ्का सरकारले हात झिकेको दुई महिना भइसक्दा पनि मन्दिर पुनःनिर्माणका लागि कसले कदम अघि बढाउँछ भन्ने अन्योल कायम छ । सार्वजनिक खरीद ऐन, २०६३ बमोजिम मन्दिर पुनःनिर्माणका लागि ठेक्कापट्टा गर्दा चाहेको गुणस्तर पाउन नसकिने महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
महानगर प्रमुख महर्जनका अनुसार मन्दिर पुनःनिर्माणका लागि अब ठेक्कापट्टा नगरिने कुरा अघि बढेको छ । मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण दुवैबाट महानगरपालिकामा हालसम्म समिति गठन गर्नू भनी पत्र नआएको उहाँले बताउनुभयो ।
प्राधिकरणले विभागलाई समितिमार्फत मन्दिर पुनःनिर्माण गर्ने सल्लाहसहित पत्र पठाएको थाहा पाएर आफू खोज्न गए पनि विभाग र प्राधिकरण दुवैबाट महानगरपालिकामा समिति गठन गर्नू भनेर हालसम्म कुनै पत्र नआएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।
करीब दुई महिनाअघि महानगरपालिकालाई समिति गठन गर्नू भनी प्राधिकरणले चिठ्ठीपत्र पठाइसकेको विभागका प्रमुख इञ्जिनीयर सम्पत घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्