तिलावे नदीमा पुल नबन्दा पर्साका ग्रामिण बासिन्दालाई सास्ती

बीरगंज । पप्पु कन्स्ट्रक्सन प्रालिको लापरवाहीको कारण तिलावे नदीमा पुल नबन्दा पर्साको ग्रामिण क्षेत्रका बासिन्दो बर्षौदेखि सास्ती भोग्दै आएका छन् ।
वीरगञ्ज–ठोरी सडकमा पर्ने तिलावे पुलको निर्माण कार्य सुचारु नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । तिलावे पूल हुँदै ८० प्रतिशत पर्साका ग्रामिण क्षेत्रका बासिन्दाहरुले आवतजावत गर्नु पर्ने बाध्यता रहेको र ठेकेदार कम्पनिले पुल निर्माण नगर्दा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
पुल निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्यले तिव्रता नपाउँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
पर्साको ग्रामीण क्षेत्रबाट ८० प्रतिशत सर्वसाधारण काम विशेषले वीरगञ्ज आउने जाने क्रममा त्यहा रहेको बेलीव्रिजले क्षमता धान्न नसक्दा घण्टौ जाममा फस्नु पर्ने बाध्यता रहेको छ ।
पूल निर्माणको ठेक्का लिएका पप्पु कन्स्ट्रक्सनले काम गर्न नसकेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कै पार्टनर लुम्बिनी जेभीले निर्माण कार्य अगाडि बढाउने जिम्मा लिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय बीरगंजका आयोजना प्रमुख दीपेन्द्र पाण्डेयले पप्पु कन्स्ट्रक्सनले काम गर्न असफल भएपछि उनकै पार्टर लुम्बिनी जेभीलाई निर्माणको जिम्मा लगार्ईएको र अहिले ठेकेदार कम्पनीले फउण्डेशन र डाइभर्सनको कार्य गरिरहेको जानकारी दिनुभयो ।
सात करोड ७१ लाख ७३ हजार ठेक्का रकम रहेको तिलावे पुलको काम अहिलेसम्म निर्माण हुन नसक्दा स्थानीय वासिन्दाले सास्ती खेप्नु परेको छ ।
पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रहेका हरिनारायण रौनियारको नाममा रहेको पप्पु कन्स्ट्रक्सनको जिम्मा अहिले उनका छोरा सुमित रौनियारलाई दिईएको छ ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेका पुल तथा सडक गुणस्तर हिन भएको र मापदण्ड विपरित निर्माण गरेको उजुरी परेपछि अहिले रौनियारको सांसद पद समेत निलम्बनमा परेको छ ।
हाल पप्पु कन्स्ट्रक्सनलाई सडक विभागले कालो सूचीमा राख्दै तीन बर्ष निर्माणको काम नदिने घोषणा समेत गरेको छ ।
आफ्नै जिल्लाको पुल निर्माण नगरेर जनतालाई सास्ती दिने रौनियारले पर्साको विकासमा आफ्नो विशेष योगदान रहेको भन्दै भाषण गर्दै हिडनु लाजमर्दो विषय भएको पर्साका ग्रामिण क्षेत्रका बासिन्दाहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्