तपाईँ सुन्दै हुनुहुन्छः

कानून अनुसार नै गोकर्ण रिसोर्टको लिज म्याद थपः उपप्रधानमन्त्री पोखरेल

उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको कार्यालयले ट्रष्टलाई अधिकतम हित हुने गरी प्रचलित कानून अनुसार नै गोकर्णराज रिसोर्टको लिज अवधि थप गरेको बताउनुभएको छ ।

ट्रष्टले आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्न आज काठमाडौमा गरेको पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष समेत रहनुभएका उप–प्रधानमन्त्री पोखरेलले लिजमा दिने सम्बन्धमा आवश्यक सम्पूर्ण अध्ययन तथा राय परामर्श समेत लिईएको बताउनुभयो ।

नेपाल ट्रष्टले विभिन्न ६ स्थानमा रहेको जग्गा तथा भौतिक सम्पत्तिहरू लिजमा दिएको र सो मध्ये गोकर्ण कमलादी टेकु र लाजिम्पाटको सम्पत्ति तत्कालिन राजदरबारले नै लिजमा दिएको र दरवार मार्ग तथा ताहाचलको सम्पत्ति ट्रष्टको स्थापना पछि लिजमा दिईएको उप–प्रधानमन्त्री पोखरेलले बताउनुभयो ।

उप–प्रधानमन्त्री पोखरेलले ट्रष्टका नाममा देशका विभिन्न १२ जिल्लामा गरी करिब २१ हजार ५ सय ६२ रोपनी जग्गा तथा ७८ करोड ९ लाख ७७ हजार नेपाली रूपैयाँ, १ लाख ४८ हजार ५ सय अमेरिकी डलर र ५० हजार १ सय २४ पाउण्ड स्टर्लिङ बैकमा मौज्दात रहेको समेत जानकारी दिनुभयो ।

यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ साल भदौ २६ गतेको निर्णयबाट मोहीको मानमा सम्पूर्ण नामसारी भएको करिव १ सय ७२ रोपनी जग्गा समेत ट्रष्टको नाममा फिर्ता ल्याउन सरकारी सार्वजनिक तथा गुठी जग्गा सम्वन्धी जाँचबुझ आयोगमा निवेदन दिई सकेको उप–प्रधानमन्त्री पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button