तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट ल्याइएका नेपालीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

भक्तपुर- चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार बिहान आएको रिपोर्टअनुसार वुहानबाट ल्याएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनामा नै कोरोनाको संक्रमण नरहेको पाइएको हो ।

सोमबार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. रञ्जित शाह नेतृत्वको खटिएको टोलीले घाँटी र नाकको स्वाव संकलन गरेको थियो ।

संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो। परिक्षणको रिपोर्टअनुसार सबैजना स्वस्थ र सकुशल रहेको पाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

परिक्षण रिपोर्टका विषयमा विस्तृत रुपमा जानकारी दिन आज (बुधबार) दिउँसो पत्रकार सम्मेलन गरिँदैछ । दिउँसो १ बजे स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपाल समयलाई जानकारी दिनुभयो ।

चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा १३५ जना पुरुष र ४० जना महिला गरी १७५ जना रहेका छन् । उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।

यसैबीच वुहानबाट ल्याइएका नेपालीहरु राखिएको क्षेत्र खरिपाटीमा क्रमशः त्रास कम हुँदै गएको छ । सुरुका दिनमा डराएर घर नै छाडेकाहरु विस्तारै घर फर्किएका छन् । स्थानीय प्रशासनले जनचेतना जगाउन भन्दै घरदैलो अभियान पनि चलाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button