शुरु भयो चितवनको सौराहामा फूड फेष्टिबल
सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलवार देखि १४ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाले आयोजना गरेको फेष्टिवलको उद्घाटन गर्दै बागमती प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

पर्यटन आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री नेपालले पर्यटनको विकासले मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताउनुभयो । उहाँले बागमती प्रदेशले पर्यटन विकासलाई समेत प्राथमिकता दिएको बताउनभयो । कार्यक्रममा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले भ्रमण बर्ष घोषणामा मात्र सीमित हुन नहुने बताउनुभयो । रत्ननगरका मेयर नारायण वनले भ्रमण बर्षलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारले ठोस कदम चाल्न नसकेको भन्दै प्रर्बधनात्मक कार्यक्रम ल्याउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले खाना र संस्कृतिको माध्यमबाट पर्यटन प्रर्बधन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गरिएको बताउनुभयो । फेष्टिवल उद्घाटन हुनुपूर्व ९० वटा संघसंस्था तथा समुहहरु सहभागी शोभायात्रा निकालिएको थियो । शोभायात्रामा उत्कृष्ट प्रर्दशन गर्ने समुहलाई उद्घघाटन कार्यक्रममा पुरस्कृत समेत गरिएको छ । पर्यटन प्रर्वधन गर्ने उद्देश्यले प्रेम दिवसको अबसर पारेर आयोजित सो फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहेको संयोजक ध्रुव गिरीले जानकारी दिए । फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक गिरीले बताए ।








प्रतिक्रिया राख्नुहोस्