तपाईँ सुन्दै हुनुहुन्छः

समयमा नै पुल निर्माण कार्य सम्पन्न नहुदा स्थानीयलाई सास्ती

अछाम । दुई बर्षभित्र निमार्ण सम्पन्न गर्ने गरी सात बर्ष पहिले ठेक्का भएको अछामको चित्रे पुल अझैँ नबन्दा स्थानीयले सास्ती भोगिरहेका छन् ।

आर्थिक बर्ष २०६९/७० मा अनक नन्दा निर्माण सेवाले दुई बर्षमा पुल निर्माण सम्पन्न गरीसक्ने गरी ठेक्का लिएको थियो ।

चौरपाटी गाउँपालिकाको पायल र मंगलसैन नगरपालिका जोड्ने बुढीगंगा नदीमाथि निमार्णाधिन पुल निर्माण कार्य अझैँ पूरा नभएको हो ।

पुलमा अझैँ तीन बटा स्लाब राख्न बाँकी छ । प्राविधिक स्टमेटमा पुलको सबै कामको विवरण छुटेकोले आफुले निर्माण गर्न नसकेको निर्माण सेवाका सञ्चालक रामबहादुर बुढाले बताउँदै आउनु भएको छ ।

सेती लोकमार्गलाई मंगलसैन नगरपालिकासहित पूर्वी अछामसँग जोड्नका लागि पुल निर्माण थालिएको हो । तर पुल निर्माण नहुँदा छोटो बाटोबाट साँफेबगर, चौरपाटी पुगिने भएपनि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता रही आएको छ ।

पुल निर्माण कार्य प्रति तीब्र गुनासो रहँदै आएको अवस्थामा चित्रेको पुलको एक टोलीद्वारा अनुगमन गरिएको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले निर्माणस्थल पुगेर अनुगमन तथा निरिक्षण गरिएको हो ।

निरिक्षणका क्रममा तीनवटा स्ल्याब हाल्न बाँकी रहेको पाइएको छ । पुलको काम आगामी बैशाखसम्म पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ठेकेदार कम्पनीका प्रतिनिधि खेमराज बुढाले १० दिनभित्र एउटा स्ल्याब राखेर अन्य दुई स्ल्याब राख्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button