तपाईँ सुन्दै हुनुहुन्छः

बजेट कार्यान्वयन निराशाजनक

बेत्रावती-नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६÷७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।

आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट रु तीन अर्ब ३१ करोड मध्ये छ महिनामा रु ८८ करोड सात लाख (२७.५ प्रतिशत) खर्च भएको छ ।

कार्यालयका प्रमुख दिवाकरण घिमिरेका अनुसार जिल्लामा प्रदेश सरकार मातहतका सरकारी कार्यालय र प्रदेश सरकारबाट अनुदानप्राप्त गरेका स्थानीय सरकारसमेतका २० कार्यालयमा रु एक अर्ब ९९ करोड प्राप्त बजेटमा रु १० करोड ३९ लाख (५.२३ प्रतिशत) मात्रै खर्च भएको छ ।

विकास (पूँजीगत) खर्चजस्तै यहाँ संघीय सरकारबाट प्राप्त बजेटको चालू (कार्यालय प्रयोजन) खर्च सन्तोषजनक भए पनि प्रदेश सरकार मातहतका कार्यालयको झनै कमजोर देखिएको छ । जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’अन्तर्गत प्राप्त रु २४ करोड बजेट पनि अझै कार्यान्वयनमा आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button