पाँचौ राष्ट्रिय योग दिवसः योगलाई जीवन पद्धतिका रुपमा विकास गर्न आवश्यक

काठमाडौँ । राष्ट्रिय एकताःयोगको सान्दर्भिकता भन्ने मूल नाराका साथ पाँचौ राष्ट्रिय योग दिवस आज मुलुक भर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्राचिन विद्या योगलाई व्यायाम र आसन तथा औषधी र उपचारको अर्थमा मात्र नबुझी जीवन पद्धतिका रुपमा बुझ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले योगलाई आधुनिक विज्ञानसँग समाहित गर्दै परिस्कृत गर्न र योग विज्ञानलाई साधनका रुपमा प्रयोग गरी विज्ञानको निश्कर्षलाई आत्मसाथ गर्न जरुरी रेहेको उल्लेख गर्नुभयो ।
मन्त्री पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अभियान प्राप्तिका लागि योग बाहिर रहेको ठूलो संख्यालाई योग अभियानमा ल्याउनु आजको आवश्यकता रहेकोमा जोडदिनुभयो ।
मन्त्री पोखरेलले मानिसको चेतनालाई अन्तर चेतनासँग जोड्नका लागि विकास भएको योगलाई जनजनमा पु¥याउन अभियानका रुपमा अघि बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले योगमाया आयुर्वेद विश्वविद्यालय सम्वन्धी विधेयक यही अधिवेशनमा संसदमा लगिने र योग, प्राकृतिक चिकित्सा र जडिवुटी सम्वन्धी पाठ्यक्रमलाई छिट्टै अन्तिमरुप दिएर आगामी शैक्षिक वर्षदेखि लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आधुनिक चिकित्सा पद्धतिको विकास हुन अघिको पूर्विय ज्ञान र सम्पदा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले तनावलाई कम गर्ने प्रभावकारी माध्यम योग र ध्यान हो भन्ने विषयलाई वैज्ञानिक प्रयोगले पुष्टि गरेको अवस्थामा योगको गौरवपूर्ण धरोहरलाई जीवनको अभिन्न अङ्ग बनाउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले योगलाई सबैले सहजसँग गर्न र पच्छ्याउन सक्ने बनाउनु पर्ने सुझाव दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले रोग लाग्नुभन्दा रोग लाग्न नदिने चेतनामूलक अभियान अघि बढाउन सरकार क्रियाशिल रहेको बताउनुभयो ।
मन्त्री ढकालले सबै जाति, भाषा, धर्म र सम्प्रदायभन्दा माथि उठेर योगले स्वस्थ जीवनका लागि सबैलाई अभिप्रेरित गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले आयुर्वेद, प्राकृतिक चिकित्सा, योग र ध्यानको विस्तार र विकासमा लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वामी आनन्द अरुणलगायत योग गुरुहरुले योगको विषयमा जानकारी गराउनु भएको थियो भने ब्रह्मकुमारी राजयोगका तर्फबाट ध्यानको अभ्यास गराइएको थियो ।
यसअघि आज विहान मूल समारोह समितिका तर्फबाट काठमाडौंमा प्रभातफेरिको गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्