तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा सदरमुकाममा अहिलेसम्मकै बढी हिमपात

डडेल्धुरा । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । डडेल्धुरा सदरमुकाममा मात्रै २ फिट भन्दा बढी हिमपात भएको छ ।

बुधबारदेखि मौसममा आएको परिवर्तन सँगै बिहीबार रातीबाट परेको हिमपातले डडेल्धुरा सदरमुकाम ढाकेको छ । डडेल्धुरा सदरमुकामसहित घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ ।

भीमदत्त राजमार्ग अन्र्तगत पर्ने हगुल्टे लेक, साहुखर्क, गैरा र दशरथचन्द राजमार्ग अन्र्तगत अनारखोली,भालुमारे लगायत क्षेत्रमा ४ फिट हिउँ जमेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

सडक सुचारु गर्नका लागि घटनास्थल पुग्नु भएका प्रजिअ पौडेलले सुरक्षा निकायको पहलमा हिमपात हटाईरहेको भएपनि निकै कष्टकर भईरहेको बताउनुभयो ।

अमरगढी नगरपालिका र गन्यापधुरा गाँउपालिकाको डोजर सडक खोल्नका लागि परिचालन गरिसकेको र बाँकी डोजरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

हिमपातका कारण घरभित्रबाट बाहिर निस्कन सक्ने अबस्था नरहेको र अत्यधिक चिसो बढेको कारण कष्टकर जिबनयापन भोग्नु परेको स्थानीय बीरबहादुर बोहराले बताउनुभयो । हिमपातका कारण सयौं सवारी साधनहरु बाटोमै रोकिएका छन् भने यात्रुहरु चिसोका कारण समस्यामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button