कफी मिसिएको वस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृद्धि
काठमाडौं । सरकारले विभिन्न मुलुकबाट नेपालमा भित्रिने कफी तथा कफी मिसिएको वस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृद्धि गरेको छ ।
आयात निरुत्साहित गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यले सरकारले हालै करका दरमा परिर्वतन गरे अनुरुप यस्तो निर्णय लिइएको हो ।
भन्सार विभागको विवरण अनुसार चालू आर्थिक वर्षको तीन महिनामै साँढे ४ करोड रुपैयाँ बराबरको ७१ हजार किलोभन्दा धेरै कफी आयात भएको छ । गत वर्ष ३८ करोड ४१ लाख बराबरको २ लाख ५० हजार १३९ किलो कफी तथा ४५ हजार ९५० किलो कफीजन्य वस्तु विभिन्न मुलुकबाट नेपाल आयात गरिएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा नेपालले विश्वका ११ मुलुकमा झण्डै २७ हजार किलो कफी बिक्री गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार २६ हजार ८ सय ११ किलो कफी साउनदेखि असोज मसान्तसम्म नेपालबाट निर्यात भएको छ ।
निर्यात भएका कफीको बजार मूल्य ३ करोड १३ लाख २३ हजारभन्दा धेरै रहेको विभागले जनाएको छ ।
नेपाली कफी क्यानाडा, अमेरिका, जापान, ताइवान, बेलायत र यूरोपेली बजारसम्म पुगेका छन् । आर्थिक वर्षको तीन महिनामा नेपालले सबैभन्दा धेरै ९ हजार २ किलो कफी जर्मनी निर्यात गरेको छ ।
यस्तै दोस्रो ठूलो बजार स्विट्जरल्याण्डमा साउनदेखि असोज मसान्तसम्म ८ हजार किलो कफी बिक्री भएको जनाइएको छ ।
एशियाली मुलुकहरु तथा अमेरिकामा पनि नेपाली कफिको राम्रो बजार रहेको छ । नेपाली कफिको माग विश्वव्यपी रुपमा बढीरहेको भए पनि उत्पादन भने तुलनात्मक रुपमा वृद्धि हुन नसक्दा नेपालले माग अनुसारको निर्यात गर्न सकेको छैन ।
आर्थिक वर्ष ०७५–७६ मा ९ करोड ९६ लाख बराबरको कूल ८४ हजार १ सय ३१ किलो कफी नेपालबाट निर्यात भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्